विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा ५ हजार माछाका भुरा छाडियो

पोखरा । विश्व मत्स्य दिवसको अवसरमा आज (बिहीबार) पोखराको फेवातालमा ५ हजार वटा माछाका भुरा छाडिएको छ । मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखराको आयोजनामा फेवातालमा एक समारोहका बिच शहर, रहु, नैनी, सिल्भर, बिग्रेड लगायतका जातका ५ हजार वटा माछाका भुरा छाडिएको केन्द्रका प्रमुख डा.मोहमद इकवाल हुसेनले बताउनु भयो ।
जलचर थलचर सहित स्थानीय जलारीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउन विश्व मत्स्य दिवसको अवसरमा यस बर्ष फेवातालमा माछाका भुरा छाडिएको उहाँले जनाउनु भयो । यस अघि केन्द्रले बेगनास तालमा पनि यस्तै गरी स्थानीय जातका माछाका भुरा छाड्दै आएको थियो । पोखरा सहित कास्की क्षेत्रमा स्थानीय जातका माछा लोपोन्मुख भएकोले त्यसको संरक्षण गर्नु सरकारी निकाय देखि स्थानीयहरूको समेत ठुलो भूमिका हुने प्रमुख हुसेनले उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्रालयका सचिव टंक प्रसाईँले जलाशय क्षेत्रमा विषादीले पर्यावरणमा समेत असर पुगेकोले त्यसको रोकथाम गर्न आग्रह गर्नु भयो । नेपालका नदीनाला, पोखरी तथा तालहरूमा सरसफाई गरिरहनु पर्ने बताउँदै उहाँले स्थानीय जातका माछा संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशु चिकित्सक सूर्य श्रेष्ठले माछा मानव स्वास्थ्यको लागि अति उत्तम भएकोले मासु भन्दा यसको प्रबद्र्धन गर्न जोड दिनु भयो । पोखरा ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले स्थानीय जातका माछा लोप हुने अवस्थामा रहेकोले यसलाई तीनै तहका सरकारको विशेष ध्यान जानुपर्ने बताउनु भयो । फेवातालमा लुकीछिपी माछा मार्ने गरेकोले त्यसलाई आफूहरूले प्रहरीको सहायताले निगरानी बढाउको बताउनुभयो ।

“प्राकृतिक जलाशयलाई जलचरहरूले भरिभराउ राखौँ भन्ने नाराका साथ यस वर्षको मत्स्य दिवस मनाइएको हो । सह–आयोजक: हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर जलारीले आफूहरूलाई अझ व्यवसायीक बनाउन तालहरूको सरसफाई देखि स्थानीय जातका माछा संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
पोखरा ६ मा रहेको जलारी दिदीबहिनी समूहका अध्यक्ष मिना जलारीले तालमा माछाका भुरा छाड्नु आफूहरूको लागि समेत यसले प्रोत्साहन हुने बताउनु भयो । कार्यक्रममा भेटेरिनरी आपाताल तथा पशुसेवा विज्ञ केन्द्र पोखराका डिल्लीराम रेग्मी, पोखरा महानगरपालिकाका कृषि महाशाखाका दामोदर अधिकारी, केन्द्रका प्रमुख प्रशासन सहायक भगवती थापा लगायतले स्थानीय जातका माछा संरक्षणमा विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । उक्त अवसरमा पोखरामा र्याली समेत प्रदर्शन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्