‘पिछडिएको ठाउँ र भूगोललाई प्राथमिकतामा राखेर सरकारले योजना तर्जुमा गर्छ’
नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताउनुभएको छ ।
बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर योजना तर्जुमा गर्ने स्पष्ट पार्नुभयो । सिमान्तकृत समुदायको जीवनस्तर उठाउने गरी कार्यक्रम निर्माण गरिएको उहाँले बताउनुभयो ।
नरैनापुर लगायतका क्षेत्रको अवलोकन गर्ने क्रममा प्राप्त भएका मागहरूलाई आगामी वर्षको बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । नरैनापुरको समग्र विकासमा तीन तहका सरकारले एकिकृत योजना निर्माण गरेर कार्यान्वयनमा लग्न सकिने भएकाले त्यसका लागि समन्वय गरिने भनाई मुख्यमन्त्री आचार्यको छ ।
संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम मार्फत राप्ती नदी तटबन्ध गर्दै आइरहेको छ । तर, तटबन्धको कामले गति लिएको छैन । जनताको तटबन्ध कार्यालयका प्रमुखसँग छलफल गर्ने, त्यहाँबाट सम्बोधन हुन नसके प्रदेश सरकारले तटबन्धको योजना अघि बढाउने उहाँले बताउनुभयो ।
सिँचाइको वर्तमान समस्या सिक्टा सिँचाइ आयोजना कार्यान्वयनमा आएपछि समाधान हुने बताउनुभयो ।‘यहाँको सिँचाइको समस्या सिङ्गो प्रदेशको समस्या हो भनेर बुझेका छौँ । त्यस अर्थमा यहाँको सिँचाइ समस्या समाधान भएपछि नागरिकको जीवनस्तर सुधार हुनेछ’ उहाँले भन्नुभयो,‘संघीय सरकारले यस आयोजनालाई गति प्रदान गर्ने छ । केही दिनमा यहाँको अध्ययन पनि हुँदैछ ।’
प्रतिक्रिया राख्नुहोस्