तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल गण्डकी प्रादेशिक कार्यालयका नवनियुक्त प्रमुखद्वारा पदभार ग्रहण

पोखरा । रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयका नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङले पदभार ग्रहण गर्नुभएको छ । उक्त कार्यालयबाट हालै सरुवा हुनुभएका निवर्तमान कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादव सहित कार्यालयका कर्मचारीहरू माझ उहाँले आज(सोमबार) आफ्नो पदभार ग्रहण गर्नुभएको हो ।

प्रादेशिक कार्यालय पोखरामा हालै नियुक्त हुनुभएका गुरुङले रेडियो नेपालको साख जोगाउने गरी यस अघिका कार्यालय प्रमुखले ल्याएका राम्रा कामलाई निरन्तरता दिँदै आम जनताको आवाज विहीनहरूको आवाज बुलन्द पार्ने गरी काम गर्ने योजना रहेको सुनाउनुभयो ।

२७ वर्षअघि सह समाचार वाचकको रुपमा रेडियो नेपालमा यात्रा सुरु गर्नुभएका गुरुङले वरिष्ठ सम्पादक हुँदै प्रादेशिक कार्यालयको प्रमुखको जिम्मेवार पाउनु ठुलो उपलब्धि भएको उल्लेख गर्दै सबै कर्मचारीलाई मिलाएर सबैको हितमा काम गर्ने वचन दिनुभयो । रेडियामा भएको सीमित श्रोत साधनका बाबजुद आफूहरू कटिबद्ध भएर लाग्ने प्रमुख गुरुङको भनाई थियो ।

करिब ५ वर्ष ६ महिना रेडियो नेपालको प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवार सम्हालेर काठमाडौँ जान लाग्नुभएका सुरेन्द्रमान यादव सहितका अन्य कर्मचारीले प्रमुख गुरुङलाई खादा तथा फुल र अबिर लगाएर कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको थियो । रेडियो नेपाल प्रादेशिक कार्यालय पोखरामा हाल २८ जना कर्मचारी आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button