स्थानीय तह उपनिर्वाचन : हुम्लामा दुई स्वतन्त्रसहित सात जनाको उम्मेदवारी दर्ता
हुम्ला । हुम्लाको सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दुई स्वतन्त्रसहित ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
गाउँपालिकाको उपाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनमा ७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसबाट सर्केगाड –८ राहदेबकी सविता ऐडीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट सर्केगाड–७ रोडिकोटकी जाना शाही, नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चाबाट सर्केगाड–८ राहदेबकी देवकी तिमल्सीना, राष्ट्रिय प्रजातन्त्र पाटीबाट सर्केगार्ड–गैरीसाँयाकी सङ्गीता शाही र राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)बाट सर्केगार्ड–८ फुँचाकी बाँचा शाहीको उम्मेदवारी परेको छ ।
यस्तै, स्वतन्त्रबाट दुई जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारतर्फ सर्केगाड– ५ गोठीका नरेश साही र सर्केगाड–४ साँयाकै रामशरा खड्का शाहीको उम्मेदवारी परेको छ ।
सर्केगार्ड गाउँपालिका उपाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरूद्वारा हर्सोउल्लासका साथ उम्मेदवारी दर्ता गरेका छन् । गाउँपालिका स्तरका आफ्ना कार्यालयहरूबाट बाजागाजा सहित उम्मेदवारी दर्ता गरेका हुन् ।
मनोनयन दर्ताको दुई दिन अगाडी बसेको सर्वदलीय बैठकले ठुला दल अनुसार उम्मेदवारी दर्ता गर्ने कार्य गर्ने सहमति अनुसार आज दलहरूले उम्मेदवार मनोनयन गरेका छन् ।
स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सर्केगार्ड गाउँपालिका केन्द्रमा कात्तिक ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्