तपाईँ सुन्दै हुनुहुन्छः

५० जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

चितवन । रत्ननगर–८ स्थित स्वास्थ्य केन्द्र नरकटियामा आयोजित स्वास्थ्य शिविरमा आँखाको समस्या भएका ५० जनालाई मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

रत्ननगर नगरपालिकाको आयोजना एवं हेल्पिङ हेन्ड तथा ग्रामीण महिला विकास संस्थाको प्राविधिक सहयोगमा कात्तिक १० गते आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३०० जना बिरामीले स्वास्थ्य लाभ लिएका थिए । जसमा आँखा परीक्षणका क्रममा ५० जना बिरामीमा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।

रत्ननगर–८ का वडाध्यक्ष कृष्ण चौधरीले आँखाको समस्या भएका बिरामीहरूलाई स्वास्थ्य परीक्षण गराउन प्रोत्साहित गर्दै रोग लुकाउन नहुने र समयमै उपचार गर्न सकिए जस्तोसुकै रोग पनि निको पार्न सकिने बताउनुभयो ।

आँखाका समस्या भएका ५० जना बिरामीलाई रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटाको सक्रियतामा चितवन आँखा अस्पतालसँग सहकार्य गरी निःशुल्क शल्यक्रिया गरिएको स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले जानकारी दिनुभयो ।

सहसंयोजक सापकोटाले नगरवासीलाई अधिकतम सुविधा दिने हिसाबले स्वास्थ्यकर्मीहरू खटिँदै आएको बताउनुभयो । हरेक महिनाको १ गतेदेखि १६ गतेसम्म सार्वजनिक बिदाको दिनमा समेत गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्सरे, इसिजी सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, रत्ननगर नगरपालिकाको आयोजनामा नगरभित्र बसोबास गर्ने ३० वर्षदेखि ६० वर्षसम्मका महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण (भिआइए), आङ खस्ने समस्या पहिचान र यौन रोगको निःशुल्क उपचार गर्ने भएको छ ।

मङ्सिर १ गतेदेखि १७ गतेसम्म रत्ननगर–१ देखि रत्ननगर–१६ सम्मका सबै वडामा निःशुल्क भिआइए शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button