देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्दछ : उद्योग मन्त्री भण्डारी
नेपालगन्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशभित्रै नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको ३२ र ३३औँ साधारणसभालाई आज नेपालगन्जमा सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीले देशभित्र सम्भावनाका चाङ रहेको बताउनुभयो । चुनौतीलाई सम्भावनामा बदल्नुपर्ने बेला आएको उहाँको भनाई छ । उद्योग व्यवसायले नयाँ मोड खोजिरहेको भन्दै मन्त्री भण्डारीले अब नयाँ ढङ्गबाट सोच्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । उत्पादन वृद्धि गर्दै निर्यात बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको मन्त्री भण्डारीको भनाई छ । बढ्दो व्यापार घाटा कम गर्दै जानुपर्ने मुख्य चुनौती रहेको उहाँको भनाई छ । उहाँले उद्योगी–व्यवसायीमा देखिएका निराशा चिर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य यही महिनाभित्र अगाडि बढ्ने समेत बताउनुभयो । मन्त्री भण्डारीले तारबार र जमिन सम्याउने काम तत्काल सुरु हुने जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटन शत्रमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका महासचिव जिआर भुसाल, दाङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, जडीबुटी व्यवसायी संघका अध्यक्ष टङ्कप्रसाद शर्मा, व्यवसायी ध्रुव दाहाल लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, राष्ट्रियसभा सदस्य युवराज शर्मा, प्रतिनिधिसभा सदस्य दीपा शर्मा, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा केसी नमुना र मिना श्रेष्ठ लगायतको उपस्थिति थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन महासचिव भिम रानाभाटले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्