गढीमाई मेलाको तयारी तीव्र
बारा । बाराको महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी तीव्र भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भएको छ ।
एक हजार बिगाहामा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजार भन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, २७ सय पसल, नेपाली सेनाको तर्फबाट १० वटा भेन्टिलेटर सहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माण, दुई हजार पाँच सय सुरक्षाकर्मी जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी ट्राफिक प्रहरी र दुई सय नेपाली सेना परिचालन गरिने मेला समितिका अध्यक्ष यादवले बताउनुभयो । मेलामा पर्न आएका बिपतका लागि पुरै तयारी गरिएको छ उहाँले बताउनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महागढीमाई मेला समितिको तर्फबाट अस्थायी अस्पताल निर्माण हुने भएको छ । शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रूपमा गरिरहेको उहाँले जानकारी दिनुभयो ।
त्यति मात्र नभई मेलामा भारतबाट आउने भक्तजनहरूका लागि आजैदेखि गढीमाई मन्दिरसम्म आउने नाकाहरू रक्सौल, मटियर्वा सिम्रौनगढ, गौरबाट हलुका सवारी साधनहरूलाई बिना शुल्क ईन्ट्री गरेर सहज रूपमा आउने वातावरण मिलाएको महागढीमाई नगरपालिकाका नगर प्रमुख समेत रहेका मेला अध्यक्ष यादवले जानकारी दिनुभयो । त्यसका लागि भन्सारका प्रमुखहरूसँग कुरा समेत गरिसकेको बताउनुभयो ।
भारतको विभिन्न ठाउँबाट आउने भक्तजनहरूको सुविधाका लागि ट्रेनको भाडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारीहरूसँग कुरा भइरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
मेलामा हुने सबै कुरा पारदर्शी हुनेगरि सार्वजनिक गर्ने अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्