ओसिएमसीको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु
काठमाडौँ । अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) को प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । आज यहाँ सुरु भएको सम्मेलनको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभयो ।
उद्घाटन सत्रमा मन्त्री पौडेलले भन्नुभयो, “नेपालमा दैनिक रूपमा हिंसाका घटना बढिरहेका छन् । यो सम्मेलनले यसको व्यवस्थापनसम्बन्धी प्रभावकारी नीति बनाउन सहयोग पुग्ने विश्वास छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सुरु भएको सम्मेलन शुक्रवारसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मन्त्रालयका प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्यले ओसिएमसीले हिंसासम्बन्धी घटना रोकथाम र नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । स्थापनाको १३ वर्षपश्चात् एक दशकको समीक्षा गर्न सम्मेलनको आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।
सम्मेलनमा उत्कृष्ट ओसिएमसीको मोडेल सार्वजनिकीकरणका साथै यसको विद्यमान, अवस्था र भावी योजनाका बारेमा छलफल हुनेछ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी ओसिएसमीको अभिन्न अङ्ग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिंसासम्बन्धी ८२ प्रतिशत विषय प्रहरीसमक्ष आउँछन् । हामीले आवश्यकता अनुसार ‘रिफर’ गरी पठाउँछौँ । स्वास्थ्य उपचार र पुनःस्थापनामा ओसिएमसीले सहयोग पुर्याइरहेको छ ।”
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले देशभरका विभिन्न ओसिएमसी सेन्टरको अनुगमनका क्रममा कतिपय अस्पतालमा यसको सेवा प्रभावकारी देखिएको भन्दै कतिपयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार भए पनि सेवा सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । “ओसिएमसीलाई प्रभावकारी बनाउन विशेष प्राथमिकता दिनुपर्ने छ । सुरक्षित आश्रयस्थलको व्यवस्था र गोपनीयता हुने गरी परामर्श दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) की आवासीय प्रतिनिधि वन योङ्ग हङ्गले ओसिएमसी जस्ता केन्द्रको सङ्ख्या थप बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म देशभरि ९२ वटा केन्द्र छन् । यसको सङ्ख्या बढाउँदै दक्ष जनशक्ति र गुणस्तरीय सेवा विस्तार गर्दै जानु पर्छ ।” रासस
प्रतिक्रिया राख्नुहोस्