तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला फुटबल खेलाडी अमिसा र सवितालाई गृह जिल्लामा सम्मान

उदयपुर । नेकपा एमाले जिल्ला कमिटी उदयपुरले राष्ट्रिय साफ महिला फुटबल प्रतियोगितामा सहभागी उदयपुरका दुई खेलाडीहरूलाई सम्मान गरेको छ । 

राष्ट्रिय साफ महिला फुटबल खेलाडीहरूलाई नेकपा एमाले उदयपुरले नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । 

साफ महिला फुटबल खेलाडीहरू अमिसा कार्की र सविता थापा मगरलाई बाजागाजासहित सदरमुकाम गाईघाट बजार परिक्रमासहित अभिनन्दन र सम्मान गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो । 

उदयपुर गृहजिल्ला भएका खेलाडीहरू अमिसा कार्की त्रियुगा नगरपालिका– ५,  सविता थापा मगर रौतामाई गाउँपालिका–५ र हिरा भुजेल कटारी नगरपालिका ५ का स्थायी बासिन्दा भएका खेलाडीहरू हुन । 

हिरा भुजेल खेलको क्रममा घाइते भई अस्पतालमा उपचाररत रहेकाले सम्मान कार्यक्रममा अनुपस्थित हुनु भएन । 

उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझी र संविधानसभा सदस्य मन्जु कुमारी चौधरीले राष्ट्रिय झण्डा ओढाएर खेलाडीहरूलाई सम्मान गर्नुभयो । 

सम्मान कार्यक्रममा बोल्दै खेलाडीहरूले आफूहरूलाई गृह जिल्लाले सम्मान गरेकोमा उत्साहित भएको र आगामी दिनहरूमा अझ उत्कृष्टताका साथ खेल खेलेर जिल्लाको नाम उँचो राख्ने प्रतिक्रिया दिनुभयो । 

कार्यक्रमका वक्ताहरूले उदयपुरको गहनाको रुपमा रहेका खेलाडीहरू जीवनयापन गर्न समस्या भएकाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको थियो । 

सम्मान कार्यक्रममा जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रंन्जन कार्की, नेपाल खेलकुद महासङ्घका अध्यक्ष सागर नेपाल, नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले कविता वाचन गरेर खेलाडीको सम्मान गर्नुभएको थियो । 

खेलाडीहरूको सम्मानमा राई जातीको साकेला नाच र मगर जातीको हुर्रा नृत्य समेत प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button