‘स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सक्रियताका साथ काम गर्न निर्देशन’
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सक्रियताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश एवम् जिल्ला निर्वाचन अधिकारीहरूसँग आयोगमा आज भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आ–आफ्नो काम, कर्तव्य र अधिकार प्रति सबै सचेत र प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।
निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपनिर्वाचन सम्बन्धी कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक, सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा सहजीकरण गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्