६ हजार बढी सहकारी बचतकर्ताको बचत फिर्ता : मन्त्री अधिकारी
पाल्पा । सङ्घीय सरकारका भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा बचत गरेका ६ हजार बढी सहकारी बचतकर्ताको रकम फिर्ता भएको बताउनुभएको छ ।
आज नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले बाँकी बचतकर्ताको बचत पनि सहकारी र संलग्न व्यक्तिहरूको सम्पत्तिबाटै फिर्ता हुने बताउनु भयो । उहाँले सहकारीको रकम हिनामिना गर्ने व्यक्तिको एकाघरको सम्पत्ति र पासपोर्टसमेत सरकारले रोक्का गर्ने बताउनुभयो ।
उहाँले २०७४ सालमा लागू भएको सहकारी ऐनलाई तत्काल संशोधन गर्न जरुरी भएको बताउँदै,सहकारी प्रति आम नागरिकको वितृष्णा बढेकाले केही सहकारीले मापदण्ड विपरीत बदमासी गरे भन्दैमा सबैलाई एउटै भनेर भन्नु गलत हुने बताउनुभयो ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्राधिकार भित्र रहेका सहकारीलाई नियमन गर्नुपर्ने बताउँदै उहाँले सरकारले २२ वटा सहकारीलाई समस्याग्रस्त सहकारीको रुपमा मूल्याड्ढन गरेको बताउनुभयो ।
‘स्थानीय र प्रदेशमा दर्ता भएका सहकारी सङ्घीय सरकारलाई थाँहा नहुने हुँदा त्यसको विवरण सङ्घीय सरकारले माग गरेको छ ।’ मन्त्री अधिकारीले भन्नुभयो ।
फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले सरकार परिवर्तन आजै हुन्छ, भोली नै हुन्छ भन्ने हल्लाले कर्मचारीहरूले काम नगर्ने परिपाटिको बिकास भएकाले त्यसमा कुनै सत्यता नभएको बताउनुभयो । सामाजिक सञ्जालले स–साना विषयमासमेत हल्ला हुने परिपाटिले आम नागरिकलाई दल र सरकार प्रति वितृष्णा उत्पन्न भएको बताउँदै एक दुई सय बर्ष पहिला नै बिकास गरेका देशसँग हाम्रो तुलना गर्न नहुने बताउँदै नेपालमा ६२/६३ सालपछि बल्ला जनताले आफ्नो माग अनुसार विकास सुरु भएको बताउनुभयो ।
पत्रकारहरुले राखेको जिज्ञासामा बोल्दै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले यो सरकार झण्डै दुई तिहाइको भएपनि कतिपय समस्या कानुनमा रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कानुन निमार्ण गर्ने लामो प्रक्रिया भएकाले सोचे अनुसार छिटो काम गर्न नसकिएको उहाँको धारणा थियो ।
प्रतिक्रिया राख्नुहोस्