तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

File Photo

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आजदेखि लागू हुनेगरी जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button