सङ्कटमा सारङ्गी : गाउँमा हराउँदै ‘गाइने दाइ’
बाँके । कोहलपुर नगरपालिका–११ का ५९ वर्षीय गोपीलाल गन्धर्व आज पनि आफ्नो पुर्खौली बाजा सारङ्गी बजाइरहनुभएको छ। लामो समयदेखि उहाँको परिवारको जीविकोपार्जन यही परम्परागत पेशाबाट चलेको छ।

तर, गाइने दाइको पेशा अब लोपोन्मुख अवस्थामा पुगेको छ। उहाँको अनुभवमा, पहिले गन्धर्व समुदायका मानिसहरूलाई समाजले ‘सूचनाको दूत’ को रूपमा मान सम्मान दिन्थ्यो। तर, आज सो सम्मान हराउँदै गएको र कतिपयले उनीहरूलाई ‘माग्न आउने’ भनेर अपमानित समेत गर्ने गरेका छन्।
गोपीलालका तिन छोरा र दुई छोरी छन्। छोराहरूलाई यो पेसामा खासै रुचि छैन। उहाँ भन्नुहुन्छ “हाम्रो जस्तो गरी छोराले यो पेशा समात्दैनन्, किनभने हाम्रो पुर्खाले पाल्दै आएको परम्परागत गुनासोलाई नयाँ पुस्ताले साथ दिँदैन।”
उहाँ मात्र नभएर यस्तै दुःखका कथा लिएर ६२ वर्षीय प्रेम बहादुर गन्धर्व पनि बाँके, बर्दिया, गुल्मी, पाल्पा लगायतका ठाउँमा पुगेर सारङ्गी रेट्दै हिँड्ने गर्नुहुन्थ्यो। तर, समयको परिवर्तनसँगै आज सारङ्गी बजाउँदै जिउने गन्धर्व समुदायका लागि नयाँ पुस्तामा यो पेशा ओझेलमा परेको छ।

बाँकेको गन्धर्व बस्तीमा जम्मा २ सय ७ घरधुरी छन्। यहाँका गन्धर्व समुदायको पहिचान सारङ्गीसँग जोडिएको भए पनि अब यो बाजा बजाउन चाहने युवा कम छन्। अटो चलाउने, श्रमिक काम गर्ने जस्ता अन्य पेसामा लाग्दै गर्दा, उनीहरूको परम्परागत सङ्गीत बिस्तारै हराउँदै छ।
गन्धर्व समुदायको सांस्कृतिक सम्पदा जोगाउन संस्थागत पहल आवश्यक भएको सुशील गन्धर्व बताउनुहुन्छ। ‘कोहलपुरमा केही होटल तथा रेस्टुराँहरूले साङ्गीतिक कार्यक्रमहरूमा सारङ्गी बजाउने अवसर दिएका छन् ।’ उहाँले भन्नुभयो, ‘तर ती कार्यक्रमहरू परम्परागत गन्धर्वसँग सम्बन्धित छन् भन्ने छैनन्।’
कोहलपुरका अगुवाहरूले यो सांस्कृतिक धरोहर जोगाउन सरकार र स्थानीय संघ संस्थाहरूले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्। परम्परागत पेशा र सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यले योगदान दिन नसक्ने हो भने, एक दिन सारङ्गी मात्र होइन, गन्धर्व समुदायको सांस्कृतिक पहिचान नै लोप हुने खतरा देखिन्छ।







प्रतिक्रिया राख्नुहोस्