हवाई उडानमा परिवर्तन,अब सातामा एक दिनमात्र उडान हुने
गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिकामा परिवर्तन गरेको छ । निगमले गुल्मीमा यस अघि बुधबार र शुक्रबार गरि सातामा दुई दिन उडान गर्दै आइरहेकोमा अबदेखि बिहीबार एक दिनमात्र उडान गर्ने भएको हो ।

नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउण्डेट र अर्को अप्रेसनमा रहेको कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एक पटक बिहीबार मात्र उडान गर्ने तालिका रहेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनु भएको छ । निगमले यस अघि बुधबार र शुक्रवारको समय तालिका परिवर्तन गरि बिहीबारलाई उडानको समय निर्धारण गरेको हो ।
रेसुङ्गा विमानस्थलमा प्रतिकुल मौसमका कारण लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएको अवस्थामा गत दुई सातादेखि मात्र नियमित उडान शुरु भएको थियो । निगमले नियमित उडान शुरुभएसँगै पुनः उडान तालिकामा परिवर्तन गरेको हो । जिल्लामा हवाई सेवा सञ्चालन गरिएको केही समयपछि साताको चार पटकसम्म उडान गर्दै आएको निगमले सातामा तीन पटक, दुई पटक गर्दै तालिका परिवर्तन गरि अबदेखि बिहीबार मात्र उडान गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि ७ हजार ३०० र काठमाडौँबाट रेसुङ्गाका लागि ७ हजार ५०० रुपैयाँ भाडादर कायम गरेको छ । गुल्मी‐काठमाण्डौका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनिटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाण्डौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७: ३० बजे नियमित उडान तालिका रहेको छ ।
जिल्लामा गत एक वर्ष अघिदेखि व्यावसायिक रुपमा हवाई उडान भइरहेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्यधिक हावा चल्ने भएका कारण बिहानको समयमा मात्र उडान हुने गर्दछ । पछिल्लो समयमा हवाई सेवा शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा पनि बृद्धिहुँदै जान थालेको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट ५ किलो मिटरको दुरीमा रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्