मन्त्री ढकाललाई लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिनुभएको छ । छिमेकी देश चीन भ्रमणमा जान लाग्नु भएका मुख्यमन्त्री आचार्यले आफु नफर्किदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनु भएको हो ।
मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते (आज आइतबार)देखि लागू हुनेगरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न कार्तिक २६, २७ र २८ गते (नोभेम्बर ११ देखी १३) अन्तर्राष्ट्रिय सम्मेलन हुदैँछ ।
यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्त बीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमासमेत उच्चस्तरीय भेटवार्ता हुनेछ ।
वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त बीच भगेनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले सिचुआन प्रान्त बीच भगेनी सम्बन्ध कायम गर्नुभएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त बीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो।
प्रतिक्रिया राख्नुहोस्