आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्छ: मुख्यमन्त्री सिंह
वीरगन्ज । समृद्ध मधेस निर्माणका लागि वीरगञ्जमा पहिलो पटक नवउद्यमी सम्मेलनको आयोजना गरिएको छ ।
वीरगञ्जको गण्डकस्थित क्लार्क होटलमा आयोजित नवउद्यमी सम्मेलनको आज कार्यक्रमबिच मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उद्घाटन गर्नुहुँदै प्रदेश सरकार नव-उद्यमशीलताको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा उहाँले सम्मेलन मधेस प्रदेशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने बताउँदै आफू पनि राजनीति छोडेपछि केही गर्न सकिन्छ कि भन्ने सोच राखेर सिक्न आएको बताउनुभयो ।
परम्परागत शिक्षाले उद्यमशीलताको विकास नहुने भन्दै मुख्यमन्त्री सिंहले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालका अधिकांश युवाहरू वैदेशिक रोजगारीमा गएका र महिलाहरू घरमै बसेर समय खेर फालिरहेको बताउँदै उहाँले त्यस्ता महिलाहरूका लागि उद्यमशीलताको विकास गर्न विशेष रुपमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले मधेस सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशीलताका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट बिनियोजन गरेको जानकारी दिँदै वीरगञ्जमा आइटी पार्कको लागि पनि बजेट विनियोजन गरिएको बताउनुभयो ।
नवउद्यमशीलताका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएको सङ्घको १८ कठ्ठा जग्गामा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अहमदले मधेसको समृद्धि कृषि क्रान्तिबाट हुने देखिएको हुँदा कृषिसँग आधारित उद्योग र पर्यटनलाई मधेस सरकारले सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवउद्यमी युवाहरूलाई लक्षित गर्दै उद्यमशीलताको विकासका लागि आयोजित सम्मेलन वीरगन्जसहित मधेस प्रदेशको समृद्धिमा कोशेढुंगा साबित हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्