शव चिरेर मृत्युको कारण पत्ता लगाउने पश्चिम नेपालका एक्ला फोरेन्सिक विशेषज्ञ
नेपालगञ्ज । मृत मानिसको शरीर चिर्नु सहज काम होइन । पोस्टमार्टम गर्ने काममा धेरैको रुची पनि देखिँदैन । त्यसैले त यो पेशामा संलग्न हुनेहरूको संख्या पनि न्यून छ । बाध्यकारी पेशा नभए पनि अस्पतालका लागि भने अनिवार्य अवश्य हो । धेरैको आकर्षण नभएको यही कठिन भनिएको पेशालाई नै आफ्नो भविष्य बनाएर अघि बढ्नुभएको छ, फोरेन्सिक विशेषज्ञ डा. अरविन शाक्य ।
डा. शाक्यले भेरी अस्पताल नेपालगञ्जमा शव चिर्न थालेको दुई वर्ष भन्दा बढी भइसक्यो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट २०६९ सालमा एमबीबीएस उत्तीर्ण गरेपछि उहाँले करिब डेढ वर्षसम्म टिचिङमा इमरजेन्सी र फोरेन्सिक मेडिकल विभागमा काम गर्नुभयो । फोरेन्सिक मेडिकल विभागमा काम गर्दा उहाँलाई मृत मानिसको शरीर चिरेर मृत्युको कारण पत्ता लगाउने उत्सुकता जाग्दै गएको थियो । फोरेन्सिक मेडिसिनमा जनशक्तिको एकदमै कमी छ ।
यो विभागमा राम्रो भविष्य भएकाले यो विभागमा नै जोडिन पाए हुन्थ्यो भन्ने डा. शाक्यलाई लाग्दै गयो । त्यसैक्रममा उहाँले महाराजगञ्ज मेडिकल कलेजमा एमडी अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्नुभयो । वि.सं. २०७५ सालमा उहाँले फोरेन्सिकमा विज्ञता हासिल गर्नुभयो । त्यसपछि उहाँ केएमसी अस्पतालमा जोडिनुभयो । त्यहाँ पढाउनेदेखि पोष्टमार्टम गर्ने काम पनि सुरु भयो ।
निजी अस्पतालमा फोरेन्सिक विभाग स्थापना गरी पोष्टमार्टम सुरु गरिएको केएमसी सम्भवतः नेपालकै पहिलो अस्पताल हो । करिब दुई वर्ष उहाँले केएमसीमा काम गर्नुभयो । त्यसपछि उहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्नुभयो । जुम्लामा रहँदै उहाँले लोक सेवा आयोगमा फोरेन्सिकतर्फ नवौं तहमा नाम निकाल्नुभयो । त्यसपछि उहाँको पोष्टिङ भेरी अस्पतालमा भयो । नवौं तहका स्थायी फोरेन्सिक विशेषज्ञ डा. शाक्य पश्चिम नेपालका एक्ला चिकित्सक हुनुहुन्छ । डाक्टरहरू माझ फोरेन्सिक मेडिसिन त्यति लोकप्रिय छैन । फोरेन्सिक मेडिसिन लाससँग सम्बन्धित हुन्छ ।
धेरै डाक्टर जिउँदो मानिसको उपचार गर्ने पद्धतिमा जोडिएका हुन्छन्, मृत्यु भइसकेको मान्छेको मृत्युको कारण पत्ता लगाउने काममा जोडिन चाहँदैनन् । भेरी अस्पतालको फोरेन्सिक विभागमा पनि उहाँ लास चिर्ने एक्ला विज्ञ डाक्टर हुनुहुन्छ । उहाँका सहयोगी कार्यालय सहायक कर्मचारी छन् । ती कर्मचारीलाई लास चिर्ने तालिम डा. शाक्यले दिँदै आउनुभएको छ ।
सुरुवातदेखि नै शव चिर्दा उत्सुकता लाग्यो
मानिसको मृत्युको कारण पत्ता लगाउने काम मेडिकल क्षेत्रका लागि अत्यावश्यक रहेको डा. शाक्य बताउनुहुन्छ । उहाँलाई सुरुदेखि नै यो पेशा रोज्दा आनन्दै महसुस भयो । ‘बाहिर सोच्दाखेरी लास चिर्ने काम भन्दा नाक खुम्च्याउने गरिन्छ,’ उहाँ भन्नुहुन्छ–‘तर मृत्युको कारण पत्ता लगाउने यही काम मेरो लागि सधैं उत्सुकतामै रह्यो ।’ पोस्टमार्टम गर्ने कामको महत्व बुझेको हुनाले मनमा जतिसुकै तर्कना आए पनि डा। शाक्य पछाडि फर्किन चाहनुभएन ।
एमबीबीएस पढ्ने बेलामा तेस्रो वर्षमा नै एक वर्ष फोरेन्सिक मेडिसिन कोर्स हुन्छ । जसमा पोस्टमार्टमको तालिम पनि हुन्छ । त्यसैले त्यो तालिममा संलग्न भएको हुनाले यो विषयमा स्नातकोत्तर पढ्दै गर्दा यो पेशामा लागेर पहिलो शव पोस्टमार्टम गर्न उहाँलाई गाह्रो भएन । प्राकृतिकरूपमा मृत्यु भएका भन्दा पनि दुर्घटना भएको, आत्महत्या गरेको, हत्या भएको र कुहिएका लास पनि चिर्नु परेको उहाँको भनाई छ । यस अवधिमा उहाँले पन्ध्र सय बढी शवको पोस्टमार्टम गरिसक्नु भएको छ ।
कोही निर्दोष व्यक्तिलाई हत्याको आरोप लाग्यो, त्यो हत्या उसले गरेको होइन भनेर मृतकको शव पोस्टमार्टमबाट पत्ता लागेर निर्दोष व्यक्ति आरोपबाट मुक्त हुँदा उहाँलाई साह्रै खुसी लाग्छ । आफूले अंगालेको पेशाले एउटा निर्दोष व्यक्ति सजाय पाउनबाट बचेको सुन्दा उहाँलाई खुसी लाग्छ । आफ्नो पेशाबाट कानुनलाई पनि सहयोग पुगेको र चिकित्सा विज्ञानलाई समेत सहयोग पुगेको उहाँ सुनाउनुहुन्छ । जस्तैः व्यक्तिको अचानक मृत्यु भयो । पोष्टमार्टमपछि रोगको कारण थाहा पाएर अन्य व्यक्तिहरुलाई पनि उक्त प्रकृतिको रोगबाट जोगाउन सकिने पूर्व तयारीका कार्यक्रम निर्माण गर्न सहज हुने भएकाले चिकित्सा विज्ञानलाई पनि सहयोग पुग्ने उहाँको भनाई छ ।
सडक दुर्घटनामा मृत्यु भएका, आत्महत्या गरेका र हत्या भएका लासहरूको त भूतप्रेत हुन्छ भनेर डराउने धेरै हुन्छ । समाजमा व्याप्त भूतप्रेतबारे धारणा गलत भएको उहाँ सुनाउनुहुन्छ । ‘लामो समय लासहरूसँग बिताउँदा र लास चिर्दा कहिलेकाहीँ राति सपनामा त्यस्तो केही अनुभूति हुन्छ ? पंक्तिकारको प्रश्नमा उहाँ भन्नुहुन्छ–‘अहिलेसम्म कहिल्यै भूतप्रेत देखेको छैन ।’ उहाँ भन्नुहुन्छ–‘धेरै लास चिरें, पोस्टमार्टम गर्ने क्रममा मेरो हात कहिल्यै काँपेका छैनन् ।
कसरी गरिन्छ पोस्टमार्टम ?
मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ । त्यसपछि कपडा खोलेर जनरल जाँच जस्तै लासको उचाई, तौल, चोट, मृत्युपछि हुने परिवर्तन हातखुट्टाको अवस्था, नाक–मुखबाट केही तरल पदार्थ आएको छ कि लगायतका कुरा नोट गरिन्छ ।
त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र बाहिर निकालेर भित्री अंगहरूको जाँच गरिन्छ । केही चोट वा रोग छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ । यसरी पोस्टमार्टम गर्दा कुनै कारण पत्ता लागेन भने विष सेवनबाट पनि मृत्यु भएको हुन सक्छ । कारण पत्ता लागेन भने त्यस्तोमा भिसेरा र रगत जाँच गराइन्छ । मृत्युको कारण पत्ता लगाइसकेपछि फेरि सम्पूर्ण अंगलाई जोडेर परिवारलाई शव बुझाइन्छ ।
नेपालगञ्जलाई फोरेन्सिकको केन्द्र बनाउन सकिन्छ
नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको फोरेन्सिक विभागमा बाँके, बर्दिया, दाङ, सुर्खेत, रुकुम, जाजरकोटबाट समेत शव पोष्टमार्टमका लागि ल्याउने गरिन्छ । कहिलेकाहीँ दैनिक ७–८ जनाकै शव पोष्टमार्टम गर्नुपर्ने अवस्था आउँछ । ज्यूँदो मानिसको फोरेन्सिक जाँच सहज हुन्छ । उसले आफ्नो समस्याबारे भन्न सक्छ । जस्तैः बलात्कार । उसले आफ्नो समस्या खुलेर राख्न सक्छ । त्यही अनुसार जाँच गर्न सकिन्छ । तर, मृत मानिसको शव चिरेर मृत्युको कारण पत्ता लगाउन गहिरो अध्ययन चाहिन्छ । किनभने शव बोल्दैन । त्यसैले त फोरेन्सिक डाक्टरलाई भनिन्छ ‘म्यअतयचक या मभबतज’ । अर्थात मृतकका डाक्टरहरु ।
अहिले पनि पोष्टमार्टम गरिएकामध्ये १०–२० प्रतिशतको मृत्युको ठोस कारण पत्ता लगाउन सकिँदैन । नेपालगञ्जमा हिस्टोप्याथोलोजी ल्यावको अभाव छ । हिस्टोप्याथोलोजी ल्याव फोरेन्सिक विभाग भएका अन्य ठाउँमा समेत छैन । डिएनए, फोरेन्सिक टक्सीकोलोजी ल्यावको समेत व्यवस्थापन गर्ने हो भने मृत्युका अन्य नयाँ नयाँ कारणहरुको पत्ता लाग्न सक्छ । भवितव्य घटना मात्र नभएर अन्य नयाँ रोगको बारेमा पनि पहिचान गर्न सहज हुने डा। शाक्य बताउनुहुन्छ । तालिम प्राप्त जनशक्तिको आवश्यकता समेत उहाँलाई छ ।
आमाको प्रेरणाले डाक्टर
फोरेन्सिक विशेषज्ञ डा. अरविन शाक्य वि.सं. २०४४ साल जेठ १९ गते अरविन ललितपुरको पाटन सुन्धारामा जन्मिउनुभयो । बुवा राज शाक्य र आमा शोभा शाक्यको कोखबाट माइलो सन्तानको रुपमा उहाँको जन्म भयो । आमा सामान्य लेखपढ गर्न पनि नसक्ने । बुवा–आमा दुवै मूर्तिकार । उनीहरुको पेशा नै हो मूर्ति गराउने र विक्री गर्ने । अरविन, उहाँका दाई र वहिनी पनि मूर्ति बनाउनुहुन्थ्यो । तर, आमालाई राम्रोसँग थाहा थियो आफूले पढ्न नसके पनि छोराछोरीलाई पढाउने र डाक्टर बनाउने ।
तीनै भाइवहिनी पढ्नमा पनि अव्वल निस्किए । आमाको त्यही सपनालाई पूरा गरे तीनै भाइवहिनीले । अरविनका दाई अहिले पोखरा स्वास्थ्य विज्ञानमा फिजियोलोजिष्ट हुनुहुन्छ । उहाँकी वहिनी केएमसीमा कम्टीमेसिन अध्ययन गर्दैै हुनुहुन्छ । द राइजिङ स्कुलबाट वि.संं. २०६१ सालमा एसएलसी गरेका उहाँले प्रसादी एकेडेमीबाट वि.सं. २०६३ मा प्लस टु गर्नुभयो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट वि.सं. २०६९ मा एमबीबीएस गर्नुभयो भने वि.सं. २०७५ मा टिचिङबाट फोरेन्सिकमा एमडी गर्नुभयो ।
यो क्षेत्रमा जोडिएपछि अरू डाक्टरलाई जस्तो चिन्दैनन् होला भन्ने लाग्थ्यो उहाँलाई । तर, ठ्याक्कै उल्टो हुँदो रहेछ । फोरेन्सिक मेडिसिन कानुनमा, प्रहरीमा र मानव अधिकारको क्षेत्रमा पनि जोडिएको हुनाले धेरैले चिन्दछन् । कुहिएको लासको पोस्टमार्टम गर्दा जुन नराम्रो फिलिङ्स हुन्छ, त्यो कारणले पनि धेरै डाक्टर यो विषय रोज्न हिच्किचाउँछन् । यो विषय रोजेपछि आफ्नो छुट्टै क्लिनिक खोल्ने भन्ने हुँदैन । जसले गर्दा सरकारी अस्पतालमा सरकारले तोकेको तलबमा मात्र काम गर्नुपर्ने हुन्छ । यी कारणले गर्दा एमबीबीएसपछि यो क्षेत्रमा आउनेको संख्या एकदमै कम छ । अहिले पनि देशभर ७० जनाको हाराहारीमा मात्रै फोरेन्सिक चिकित्सक छन् ।
प्रतिक्रिया राख्नुहोस्