तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ ।

भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रमका नरैनापुर–६ का अध्यक्ष प्रेम मौर्यले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमालाई सदैव उच्च राख्नुपर्ने बताउनुभयो ।

प्रतियोगिता अन्तरगत आज भएको खेलमा राप्ती सोनारी विजयी भएको छ । नरैनापुरलाई उद्घाटन खेलमा ५ विकेटले पराजित राप्ती सोनारीले विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको नरैनापुर १२ ओभरमा ११९ रन जोड्दै अलआउट भयो । १२० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रिएको राप्ती सोनारीले ११.३ ओभरको समाप्ति र ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

खेलमा दिपेन्द्र कुमार म्यान अफ द म्याच घोषित हुनुभयो ।

युवा सशक्तीकरण र पहिचानका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा बाँके जिल्लाका ८ वटै स्थानीय तहका तिन दर्जन टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उपविजेता टिमलाई नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button