तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जानुहुने

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जानुहुने भएको छ । मङ्गलवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ। सिचुआन प्रान्तमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको हो।

नोभेम्बर ११ देखि १३ अर्थात् कार्तिक २६, २७ र २८ गतेसम्म सिचुआन प्रान्तमा हुने उक्त सम्मेलनमा समन्वय र विकासको विषयमा छलफल गरिने छ। यस क्रममा लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबिच विभिन्न सहयोग योजनाहरूमा सहकार्यको सम्भावनालाई थप सुदृढ गर्ने विश्वास गरिएको छ।

मुख्यमन्त्री आचार्यसँगै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ लगायतका प्रतिनिधि भ्रमणमा सहभागी हुनुहुनेछ ।भ्रमणका क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनाहरूलाई अघि बढाउन दुई पक्षीय सहयोगका विषयमा उच्चस्तरीय छलफलसमेत गरिने बताइएको छ।

लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबिचको सम्बन्ध वि.सं. २०७६ मा तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलको कार्यकालमा भगेनी सम्बन्धका रूपमा स्थापना गरिएको थियो। सोही सम्बन्धलाई आधार मानी कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारी कायम भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button