सर्लाहीमा स्कुलको पोखरीमा कार डुबेपछि दुईजनाको मृत्यु
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्कुलको पोखरीमा कार डुबेपछि दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कारमा सवार महोत्तरीको गौशाला नगरपालिका वडा नं.१० बस्ने अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोही कारमा सवार महोत्तरीकै सोनवा गाउँपालिका वडा नं ८ बस्ने अन्दाजी ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन् ।
आज बिहान ४ बजे ईश्वरपुर नगरपालिका वडा नं २ मियाँखोर स्थित सरस्वती उच्च मा.बि.को पोखरीमा बयलबासबाट गौशाला तर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई डुबेको थियो । उक्त कारका चालक महतो र ठाकुर कारमै मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यसैगरी उक्त कारमा सवार मध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नं.२ बस्ने ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो ।
पोखरीमा कार डुबी हराई रहेको स्थानीयहरूले प्रहरीलाई सूचना दिन बित्तिकै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली उद्धारको सामाग्री सहित प्रहरी परिचालन गरिएको थियो । कार पोखरी भित्रै रहेको र निकाल्ने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्