सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु
झापा । झापामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
यही कात्तिक १६ गते शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ -०२–००१ ख ९५३० नम्बरको बसले ठक्कर दिएका साइकल यात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्काको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनापछि बस र बस चालक धनकुटा चौबिसे गाउँपालिका–३ सोगुम बस्ने ४३ वर्षीय शुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, शुक्रबार साँझ झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ४० वर्षीय कमानसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खामध्ये अस्मिनको बी एन्ड सी हस्पिटलमै उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक झापा गाउँपालिका ४ लसुना बस्ने २५ वर्षीय सुरजप्रसाद गणेशको शरणामती हेल्थ केयरमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरी चौकी शरणामतीमा राखिएको सोडारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्