तपाईँ सुन्दै हुनुहुन्छः

सिरिजंगा लिपीको युनिकोड सार्वजनिक

धनकुटा । सिरिजंगा लिपीको युनिकोड सार्वजनिक भएको छ ।

शुक्रबार साँझ भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवं याक्थुङ (लिम्बू)हरुको मुन्धुमका खोजकर्ता बैरागी काइँलाले सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गर्नुभयो ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमिति र प्रवास कार्यसमिति दक्षिण कोरियाको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गरिएको हो ।

युनिकोड सार्वजनिकिकरण गर्नुहुँदै पूर्व कुलपति बैरागी काइँलाले याक्थुङ (लिम्बू) भाषाको विकास र विस्तारमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

प्राज्ञ अमर तुम्याहाङ, लेखक तथा अन्वेषक डिबी आङबुङ लगायतको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा सिरिजंगा लिपीको युनिकोड निर्माणमा खटिएका पवन चित्रकारले यसको प्रयोगको विषय र प्राविधिक पक्षहरूबारे जानकारी गराउनुभएको थियो ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आर्थिक सहायतामा सिरिजंगा लिपीको युनिकोड निर्माण गरिएको हो । अहिलेको विज्ञान र प्रविधिको युगमा याक्थुङ (लिम्बू) भाषा र सिरिजंगा लिपीको प्रयोगलाई व्यापक बनाउन युनिकोड निर्माण गरिएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दीर्ज काङ्भा लिम्बूले बताउनुभयो ।

युनिकोड निर्माणका लागि कियाचु दक्षिण कोरियाले २७ लाख ६ हजार रुपैयाँ आर्थिक सङ्कलन गरेको किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताउनुभयो । भाषाको विकास सम्बन्धी काम गर्न भनेर २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले लामो समयको मिहेनतपछि सिरिजंगा लिपीको युनिकोड निर्माण भई सार्वजनिक भएको बताउँदै यसलाई व्यवहारिक प्रयोगमा ल्याउन आह्वान गर्नुभयो ।

नवौं शताब्दीमा राजा सिरिजंगाहाङले आविष्कार गरेको सिरिजंगा लिपिलाई १७औँ शताब्दीमा ताप्लेजुङको सिनाममा जन्मिएका सिरिजंगा सिंथेबेले व्यापक प्रचारप्रसार गरी प्रयोगमा ल्याएको इतिहास छ । सिरिजंगा लिपिलाई याक्थुङ (लिम्बू) भाषीहरूले प्रयोग गर्दै आएका छन् । हालः यो लिपीको १६ वटा स्वर वर्ण र २४ वटा व्यञ्जन वर्ण प्रयोगमा छन् । २०७८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा याक्थुङ (लिम्बू) भाषीको सङ्ख्या ३ लाख ५० हजार ४३६ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button