तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन्

धुलिखेल (काभ्रेपलान्चोक) । तिहार भन्ने बित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रूपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रूपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रूपमा मनाइरहेका छन् ।

काभ्रेपलान्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रूपमा मनाउन पाएका छैनन् । गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घर आँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छाएको छ । 

मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको पनौती नगरपालिका–१२ माथिल्लो राशि बजारका भवानी केसीले बताउनुभयो । यसअघि घर नजिकै रहेको खोल्सामा कलकल बगिरहेको खोल्साको पानी अनि वरिपरि हरियाली वातावरणमा सुन्दर रहेको बस्तीमा एक्कासि गएको बाढी पहिरोले घर खेत सबै बगाएपछि बगर बीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहने उहाँले बताउनुभयो ।

घर आँगनमा तिहारको लागि रोपेको सयपत्री फूलको बगैँचासहित घर अहिले बाढीले खण्डहर बनाएको बगरमा परिणत भएको छ । “यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ”, भवानीले भन्नुभयो, “अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ ।”

राजेन्द्र श्रेष्ठले भित्र्याइसकेको धान र मकै सबै बगाएपछि कोठा लिएर बस्नु परेको बताउनुभयो । “बस्ने बाँस, खाने गाँस र पिउने पानी छैन”, उहाँले भन्नुभयो, “दसैँ पनि अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो ।” वडा कार्यालयले पीडितको विवरण सङ्कलन गरेर लगेको भन्दै उहाँले यथाशीघ्र वासस्थानको व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो ।

घर गोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आउनुभएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाइएको बताउँदै उक्त राहत चाडपर्व मनाउन पर्याप्त नभएको उल्लेख गर्नुभयो । बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै राज्यले जग्गाको नाप, नक्सा छुट्टाएर दिएमा आफ्नै टहरा बनाएर बस्ने उहाँले बताउनुभयो ।

शिरखोलका अमरबहादुर केसीको बाढीले बगाएर घर र शौचालयको भाग थोरै मात्रै बाँकी रहेको देखाउँदै पाक्दै गरेको धान भित्र्याउन नपाउँदै करिब नौ मुरी धान फल्ने खेतसहित बगाएको बताउनुभयो ।

रोशी बजारका शङ्कर तामाङ भने खर्च जुटाएर बाढीले बगाएको घर निर्माण गर्न खोलाबाट ढुङ्गा ओसार्ने काममा व्यस्त छन् । ढुङ्गा माटोले बनेको आफ्नो दुई तले घर खोलाले बगाएर बगर बनाएपछि अहिले उहाँ घर निर्माणमा व्यस्त हुनुभएको हो । घर नै नभएपछि चाडपर्व खुसीले मनाउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

“घर बनाउन पैसा छैन, छ जनाको परिवारको जीविकोपार्जन गर्नु छ । दूध बेचेर आम्दानी गर्ने भैँसी बाढीले बगायो । अहिले ज्यालामजदूरी गरी अरूको घरमा बस्न बाध्य छौँ”, तामाङले भन्नुभयो ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि सङ्घीय सरकारले सहयोग नगरी सम्भव नभएका आवश्यक सहयोगका लागि पहल गरिरहेको बताउनुभयो । 

जिल्लाको विकट डाँडापारिस्थित बागमती खोलाको बाढीले सबै बगाएपछि खानी खोला गाउँपालिका–६ चनौटेका तामाङ बस्तीका बासिन्दा बगाएको बस्तीमाथि त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । 

अस्थायी वासस्थान निर्माणका लागि क्षतिको विवरण आवश्यक पर्ने भएकाले प्रहरी विवरण सङ्कलन गरिरहेको खानी खोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । क्षतिको सम्पूर्ण विवरण सङ्कलन भएपछि राहत र पुनः स्थापना प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

रोशी गाउँपालिकाको नार्के र कालढुङ्गामा पनि रोशी खोलामा गएको बाढीले बस्ती बगाएपछि यहाँका नागरिकलाई पनि चाडपर्वको रौनकले छाएको छैन, कसैलाई पनि ‘फूल र बत्तीको झिलिमिली’ लागेको छैन । जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले घर बगाएर बिचल्लीमा परेका परिवारले सुरक्षित वासस्थानको अभावमा खुसीले चाडपर्व मनाउन पाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button