चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभएको छ ।
तिहार तथा नेपाल संवत् ११४५ का अवसरमा सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले चाडपर्वले सुमधुर र सौहार्दपूर्ण सम्बन्ध विकास गर्न सघाएको बताउनुभएको छ ।
नेपालमा विभिन्न जातजाति, भाषा भाषी, धर्म, विभिन्न चाडपर्व एवं विभिन्न संस्कृति भएको र यसले हामीमा निहित बन्धुत्व भावको विविधताका बिचमा पनि अनुपम एकता कायम गरेको सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ ।
“तिहारले पनि हामीबिचको एकतालाई अझ मजबुत बनाएको छ । यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरूमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबिच तथा आफन्तबिचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
त्यसै गरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ । सभापति देउवाले नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शङ्खधर साख्वाःको योगदानलाई सम्झाउने बताउनुभएको छ । यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । सभापति देउवाले शङ्खधर साख्वाःलाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको उल्लेख गर्नुभएको छ ।
सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्ने कामना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्