तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा डेंगी भयावह : स्थानीय लामखुट्टेले टोक्दा समुदाय स्तरमै फैलियो

नेपालगन्ज । बाँकेमा डेंगीको संक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असोज मसान्तसम्म ३४८ जना डेंगीबाट संक्रमित भएका स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो ।

यो भेरी अस्पताल, निजी मेडिकल कलेज र स्वास्थ्य संस्थामा ल्याब परीक्षणबाट पुष्टि भएको सङ्ख्या हो । आर्थिक वर्ष २०८०–०८१ मा ३९४ जना डेंगी संक्रमित फेला परेका थिए । यो वर्षमा तीन महिनामै ३४८ जनामा संक्रमण देखिएकाले बाँकेमा डेंगीको अवस्था भयावह देखिएको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा १४९ जनामा मात्रै डेंगीको संक्रमण देखिएको थियो । लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण गत वर्ष भन्दा यो वर्ष देशभरी घटेको तथ्याङ्कले देखाए पनि बाँकेमा भने अस्वभाविक ढंगले बढेको गौतमले जानकारी दिनुभयो । किटजन्य रोग फोकल पर्सन गौतमका अनुसार स्थानीय लामखुट्टेले टोकेर डेंगी संक्रमण समुदाय स्तरमै फैलिएकाले बाँकेमा अवस्था भयावह बनेको हो ।

गएका वर्षहरुमा मानिसहरू बाहिर जिल्ला गएका बेला लामखुट्टेले टोक्ने र डेंगी संक्रमण लिएर बाँके आउने गरेका थिए । उनीहरू बाँकेकै भए पनि बाहिर जिल्लामा गएका बेला लामखुट्टेले टोक्दा डेंगी संक्रमण हुने गरेको थियो । तर, यो पटक भने स्थानीय लामखुट्टेले नै टोकेर संक्रमण फैलिएकाले देशभर संक्रमणदर घटे पनि बाँकेमा भने बढ्दै गएको हो ।

संक्रमित ३४८ जनामध्ये १९५ जना नेपालगन्ज उपमहानगरपालिकाका हुन् । अरू भने अन्य पालिकाका संक्रमित रहेको गौतमले बताउनुभयो । उहाँले पालिकामा भएका सङ्क्रमितहरूको तथ्याङ्क पुष्टि गर्ने काम भइरहेको पनि बताउनुभयो । उहाँले अहिलेसम्म ६२ जना उपचारमा आएको पनि बताउनुभयो । तीमध्ये नेपालगन्जका २९, कोहलपुरका १४, खजुराका ८, राप्तीसोनारीका ६, बैजनाथका ५, जानकीका ३ र डुडुवा र नरैनापुरका २–२ जना रहेका छन् ।

डेंगीबाट सबैभन्दा बढी प्रभावित नेपालगन्ज उपमहानगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि सम्वद्ध सरोकारवालासँग आज अन्तरक्रिया कार्यक्रम गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले डेंगी रोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँहरूले डेंगी रोगको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा र प्युपा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button