तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती सोनारी रनको उपाधि आयुस र अनिशालाई

बाँके । दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले प्राप्त गर्नु भएको छ ।

निर्धारित दुरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पुरा गरे भने अनिसाले २५ः२१ः०५ मिनेटमा पुरा गर्नु  भएको थियो । शनिवार नेपालगन्ज म्याराथनको एक दशक यात्रा पुरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं २ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ः४८ः०६ मिनेटका साथ दोस्रो र मनोज थारु २१ः२१ः०९ मिनेटका साथ तेस्रो हुनुभयो । त्यसैगरी छात्रातर्फ सुमित्रा रानाले २८ः३९ः०२ मिनेटसहित दोस्रो र सन्तोषी थारु ३८ः५०ः०६ मिनेटसहित तेस्रो हुनुभयो  ।

राप्तीसोनारी रनको उद्घाटन गर्दै पालिका अध्यक्ष पौडेलले नेपालगन्ज म्याराथनसँग राप्तीसोनारी पालिका साझेदारी गर्न तयार रहेको बताउनुभयो ।

राप्तीसोनारीलाई खेलकुदमय बनाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पालिकाले योजना बनाइरहेको बताउँदै नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले पालिकाको महत्त्वपूर्ण साझेदारी भइदिए राप्तीसोनारी रन हरेक बर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको जिकिर गर्नुभयो ।

विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तिर्थ ओली, नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गर्नु भएको थियो । दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । त्यसमा स्थानीय शिक्षक, वृद्ध लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button