जुम्लामा मनाइयो प्रहरी दिवस : नागरिकमैत्री सेवा प्रवाहमा जोड

जुम्ला । जुम्लामा पनि ६९ औँ प्रहरी दिवस मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा बुधबार प्रहरी दिवस भव्य रुपमा मनाइएको हो ।
दिवसका अवसरमा अमर प्रहरीका परिवार, उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी, विभिन्न खेलमा उत्कृष्ट स्थान ल्याउने प्रहरी र जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन विभिन्न तवरबाट सहयोग गर्ने सहयोगी निकायलाई सम्मान तथा पुरस्कृत गर्दै मनाइएको प्रहरी नायब उपरिक्षक छेदिलाल कामतीले बताउनुभयो ।

उहाँले सीमित साधन स्रोतका बीच पनि जुम्लाको शान्ति सुरक्षाका लागि प्रहरी सधैँ तैनाथ रहेको समेत उल्लेख गर्नुभयो । नागरिक पनि बिना बद्रीका प्रहरी भएकोले समाजमा शान्ति स्थापना गर्नका लागि उल्लेखीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी नायब उपरीक्षक कामतीले विभिन्न कार्यक्रमका माध्यमबाट प्रहरी र नागरिक सम्बन्ध विस्तारको प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले अब प्रहरी समाजले चाहेको जस्तो अनुकूल बन्नुपर्ने बताउनभयो । भौगोलिक कठिनाइ, बढ्दो नागरिकको चाप, न्यून दरबन्दी र साधन स्रोतको अभावका बीच प्रहरीले दिएको सेवा प्रसंशनीय भए पनि नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
प्रजिअ शाहीले आम नागरिक र प्रहरी बीचको सम्बन्धलाई सुमधुर बनाउन प्रहरीले आफ्ना काम नागरिक मैत्री बनाउनुपर्ने र नागरिकले पनि निःस्वार्थ सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाले भौगोलिक कठिनाइ, सीमित स्रोत साधन, न्युन जनशक्तिका बीच जुम्लाको शान्ति सुरक्षामा उल्लेखीय भूमिका खेलिरहेको बताएका छन् । सहभागीले अझै राज्यबाट नागरिकहरू सुरक्षित रहेको अनुभूति हुने खालको प्रहरीले सेवा दिनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रहरी दिवसको अवसरमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । जसमा उत्कृष्ट हुने खेलाडी र टिमलाई मेडल, ट्रफीसहित सम्मान गरिएको छ ।
भलिबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयको टिम विजेता र कर्णाली प्रदेश विपद व्यवस्थापन गुल्म उपविजेता भएको थियो ।
दिवसमा जिल्लाका सबै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, नीजि क्षेत्र, नागरिक अगुवा र पत्रकारहरूको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्