‘साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक’
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको बताउनुभएको छ ।
यसै हप्ता काठमाडौँमा सुरु हुने महिला साफ फुटबलको तयारीमा रहेका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने उल्लेख गर्नुभयो ।
निरन्तरको फाइनल हारले खेलाडी, व्यवस्थापनको मनोबल उच्च नहुने बताउँदै प्रशिक्षक तामाङले आसन्न साफमा जसरी पनि उपाधि जित्ने लक्ष्य राखेको दाबी गर्नुभयो । काठमाडौँमै भएको पछिल्लो महिला साफको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित बनेको थियो । सेमिफाइनलमा भारतलाई हराए पनि नेपालले फाइनलमा बङ्गलादेशलाई पराजित गर्न सकेन ।
महिला साफ फुटबल आगामी बिहीबारदेखि काठमाडौँमा सुरु हुदैछ । प्रतियोगिता खेल्न सहभागी टिम नेपाल आउने क्रम सुरु भएको छ । आइतबार बिहान पहिलो टोलीको रुपमा पाकिस्तानले काठमाडौँमा पाइला टेकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह र सह–महासचिव अरुणमान जोशीले टोलीलाई स्वागत गर्नुभएको छ ।
प्रतियोगिता कार्तिक १ देखि १४ गते सम्म दशरथ रङ्गशालामा हुँदैछ । साफ महिला च्याम्पियनसिप लगातार तेस्रो संस्करण नेपालमा हुने लागेको हो ।
समूह ‘ए’ मा भारत, साविक विजेता बङ्गलादेश र पाकिस्तान छन् । समूह ‘बी’ मा साविक उपविजेता नेपालसहित श्रीलङ्का, भुटान र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टोली सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्