रौतहटको मत्सरी स्थित दुर्गा मन्दिरमा भक्तजनको घुइँचो

जनकपुरधाम । मधेश प्रदेशका सबै भन्दा पुरानो तथा ऐतिहासिक दुर्गा मन्दिरको रुपमा रहेको रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाको वडा नंं ३ मत्सरीमा अवस्थित दुर्गा मन्दिरमा आज बिहान देखि भक्तजनहरूको ठूलो भिड लागेको छ ।
टाढा टाढाबाट आउनु भएका भक्तजनहरूले भाकल अनुसारको प्रसाद तथा बोका बलि दिने काम गरिरहेका छन् । यसका साथै अन्य सामाग्रीहरू पनि भक्तजनहरूले मन्दिरमा अर्पण गरिरहेका छन् । आज महाअष्टमी तथा नवमी तिथि एक्कै दिन परेका कारणले मन्दिरमा ठूलो भिड लागेको हो ।
निक्कै आकर्षक शैलीमा निर्माण भएको दुर्गा मन्दिरमा घटस्थापना देखि विशेष नियम निष्ठाका साथ विशेष पूजा पाठको आयोजना हुँदै आएको छ । यस पटक पनि अन्य वर्ष जस्तै भव्य तयारी सहित विजया दशमीको पूजाको आयोजना भइरहेको छ ।
त्यसो त सो मन्दिरमा ३ सय ६५ दिन नै पूजाको आयोजना भएपनि शरद नवरात्रमा विशेष प्रकारले पूजा आयोजना हुने गरेको छ । वैदिक विधि विधान अनुसार हुने पूजाको घटस्थापनाका दिन नै दुर्गा सप्तरीको २४ घण्टै पाठ गर्ने पाठार्थीहरुको विधि पूर्वक वरण गरेर ती पण्डितहरूबाट नवरात्री अवधिभरि पाठ गराउने गरिन्छ । सबै वरण भएका पण्डित पाठार्थीहरुको खाने बस्ने व्यवस्थापन मन्दिरले नै गर्ने गरेका छन् ।

नेपालमा नै भव्य रुपमा दुर्गा माताको पूजा वैदिक विधि विधान अनुसार गरिने भएकाले मन्दिरमा नवरात्री अवधि त्यसमा पनि षष्ठी देखि विजया दशमीसम्म नेपाल भारतका विभिन्न भागहरूबाट ठूलो सङ्ख्यामा भक्तजनहरू पूजापाठ तथा दर्शनका लागि पुग्ने गरेका छन् ।
यस उपलक्ष्यमा प्रत्येक वर्ष मेला लाग्नुका साथै विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुने गरेको छ । मैथिल बाहुनहरूको बाक्लो बसोबास रहेको मत्सरीमा १ सय ५ वर्ष देखि दुर्गा माताको कलात्मक माटोको प्रतिमा दुर्गा मन्दिरमा बनाएर प्राण प्रतिष्ठा गरि पूजाको आयोजना हुँदै आएको दुर्गा पूजा समितिका पूर्व अध्यक्ष विनय कुमार झाले जानकारी दिनु भएको छ ।

एक सय वर्ष पुगेको अवसरमा वेलनौतनका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गराएको र त्यसपछिका ४ वर्षसम्म यो क्रम जारी रहेपनि यस पटक असोजको दोस्रो सातामा आएको विनाशकारी बाढीले मुलुकमा धेरै धनजनको क्षति भएकाले हेलिकप्टरबाट पुष्पवृष्टि गराउने काम नभएको पूर्व अध्यक्ष झाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्