छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिने
सप्तरी । मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा बडा दसैँको अवसरमा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ ।
मन्दिर समिति र छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत भोली शुक्रबार बिहान ११ बजे पुष्पवृष्टि गर्न लागिएको हो । बडा दशैको अष्टमीको दिन पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । ‘धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप हामीले अष्टमीको दिने पुष्प वर्षा गर्न लागेको हौैं,’ गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो ।

छिन्नमस्ता शक्तिपीठलाई शक्ति र साहसको प्रतीक मानिन्छ । यहाँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूलाई कुनै किसिमको समस्या नहोस् भने उद्देश्यले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीको प्रमुख आतिथ्य तथा मन्दिर समिति, छिन्नमस्ता गाउँपालिका, सप्तरीको तिनवटै सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, रेडक्रस, जनस्वास्थ्य, सडक विभाग, खानेपानी लगायतका प्रतिनिधिहरुको संयुक्तरूपमा बडा दशैको तेस्रो दिन १९ असोजमा मन्दिर प्राङ्गणमा बसेको बैठकको छलफलबाट यस्तो निर्णय भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्