मिथिलाको राजदेवी सहितका शक्ति पीठहरूमा विधिपूर्वक फूलपाती भित्र्याइयो
जनकपुरधाम । विजया दशमीको सप्तमी थितिको शुभ साइतमा मिथिला सहित तराई मधेशमा रहेका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ आज फूलपाती भित्र्याइएको छ ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको राजदेवी मन्दिरमा बाजागाजा सहित फूलपाती भित्र्याउने काम सम्पन्न भएको छ । फूलपाती भित्र्याउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका ब्यान्ड सहभागी भएका थिए ।

फूलपाती भित्र्याउने क्रममा तीन वटै सुरक्षा निकायका तर्फबाट राजदेवी मातालाई सलामी अर्पण गरिएको थियो । फूलपाती भित्र्याउने क्रममा ठूलो सङ्ख्याका युवा/युवती सहितका भक्तहरू सहभागी भएका थिए । आज भित्र्याएको फूलपाती दशै घर वा पूजा घरमा राखिने चलन रहेको छ । जनकपुरधामका अन्य शक्तिपीठहरु पल्टीमाई, पियरीयामाई, गहवामाई, अमरखाना सहितका शक्तिपीठका साथै विद्यापति तथा रामान्द चोकमा रहेको दुर्गा मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याउने कार्य सम्पन्न भएको छ ।

मधेश प्रदेशको सबै भन्दा ठूलो दुर्गा मन्दिरको रुपमा रहेको रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाको वडा नंं ३ मत्सरीमा रहेको ऐतिहासिक दुर्गा मन्दिरमा पनि फूलपाती भित्र्याउने कार्य सम्पन्न भएको छ । सोही पालीका भन्दा दुई किलोमिटरको दूरीमा रहेको भलोहियामा रहेको श्रीराम जानकीको फूलबारीबाट विधिपूर्वक बाजा गाँजा सहित फूलपाती भित्र्याएको छ ।

वैदिक विधि विधान अनुसार घटस्थापना देखि शुरु भएको दशैको आठौँ दिन भएपनि सातौँ दिनको कालरात्रिको पूजा आज गरिने कार्यक्रम रहेको छ । कालरात्रिको पूजा मध्यरातमा हुने भएकाले आज रातभरिनै विधि पूर्वक पूजाको आयोजना गरिने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अभिषेश कुमार झा (बब्लु) ले जानकारी दिनु भएको छ ।

आजको मध्य रातमा नै पहिलो पटक विधिपूर्वक कुभिन्डोको बली प्रदान गर्ने र त्यसपछि कालरात्रिको पूजा विधि अन्तर्गत मन्दिरको तर्फबाट एक जोडा बोका बली दिने कार्यक्रम रहेको छ । त्यसपछि भोली महाअष्टमीका दिन अन्य भक्तजनहरूको तर्फबाट भाकल गरेअनुसारको बोला बली दिइने भएको छ । यस पटक महाअष्टमी र महानवमी एक्कै दिन परेको छ ।

दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको दुर्गा मन्दिरमा सयौँ वर्ष देखि दुर्गा भवानीको भव्यता सहित पूजा आराधना गरिँदै आएको छ । यहाँ भव्य र आकर्षक स्थायी मन्दिर नै रहेको छ । मन्दिरमा ३ सय ६५ दिन नै पूजा आयोजना हुने गरेको भएपनि विजया दशमीमा धूमधाम सहित विशेष पूजा हुने गरेको छ ।
यसै गरि मिथिलाको अर्को महत्वपूर्ण शक्ति पीठको रुपमा रहेको सप्तरी जिल्लाको छिन्नमस्ता, सखडा भगवती तथा बारा जिल्लाको गढी माईमा आज बिहान फूलपाती भित्र्याउने काम भएको छ ।






प्रतिक्रिया राख्नुहोस्