खुर्कोटको पुल निर्माणमा नेपाली सेनाको सक्रियता

सिन्धुली(खुर्कोट) । असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुल बढीमा १० दिन भित्र एमपिवि (मोडुलर प्यानल ब्रिज) जोडेर यातायात सुचारु गरिने नेपाली सेनाले जनाएको छ ।

बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले अहिले पुल निर्माणको काम गरिरहेको छ ।

बुधवारबाट एमपिवि जडानको काम सुरु भएको र बढीमा १० दिन भित्र काम सम्पन्न गरी यातायात सुचारु गरिने नेपाली सेनाको चौध बाहिनी अड्डाले जनाएको छ । तामाकोसी– मन्थली– खुर्कोट सडक अन्तर्गत एडिबीको सहयोगमा निर्माण भएको खुर्कोट पुलको आधा भागमा वर्षापछिको बाढीले क्षति गरेको थियो ।
तीन सय ६० फिट लम्बाइको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोही ठाउँमा एमपिवि जडानको काम भइरहेको पुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताए ।
पुल निर्माणको लागि पहिलो चरणमा नोज कन्स्ट्रक्सनको काम सकेर बुधवारबाट ब्रिज कन्स्ट्रक्सन काम सुरु भएको र सकेसम्म चाँडै काम सकेर यातायात सुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए ।
बाढीले बनेपा– बर्दिबास बिपी राजमार्ग र खुर्कोटको पुलमा क्षति रेपछि दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

अहिले यी क्षेत्रमा चल्ने सवारीसाधनहरू काठमाडौँबाट सिन्धुपाल्चोकको खाडिचौर, दोलखा सदरमुकाम चरिकोट, जिरी र रामेछापको मन्थली, मुगिटार, सित्खा हुँदै सिन्धुलीको मुलकोटबाट खुर्कोट निस्किएर गन्तव्य तर्फ जाने गरेका छन् । वैकल्पिक सडक प्रयोग गर्दा कतिपय ठाउँमा कच्ची र पहिरोको जोखिम समेत भएकोले दशैको यात्रा असुरक्षित बनेको यात्रुहरूको गुनासो छ ।
नेपाली सेनाले खुर्कोटको पुल निर्माणको काम द्रुत गतिमा गरिरहेकोले चाँडै यातायात सुचारु हुने देखिएको दोलखा मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताउनुभयो । सरकारले बिपी राजमार्गको काम समेत चाँडै सकेर यातायात सहज गर्नुपर्ने थोकर बताउँछन् ।

खुर्कोटको पुल निर्माणको लागि नेपाली सेनाले प्राविधिक काम गरिरहेको छ भने सडक विभागले सामान उपलब्ध गराउने लगायतका काम गरिरहेको छ । खुर्कोटको पुल निर्माणको लागि एमपिवि डिभिजन सडक कार्यालय हेटौडाले उपलब्ध गराएको र सडक डिभिजन कार्यालय खाल्टेले जनशक्ति र प्राविधिक बाहिकको काममा नेपाली सेनालाई सहयोग गरेको इन्जिनियर प्रदीप तामाङले बताएका छन् ।

दोलखा र रामेछापको सिमानामा रहेको किर्नेटारमा समेत झण्डै ८ सय मिटर सडक बाढीले बगाएकोले वैकल्पिक रूपमा खिम्ति जलविद्युत आयोजना स्थलबाट सडक खुलाइएको छ । बाढीले क्षतिग्रस्त सडक निर्माणको लागि दशै लगतै सरकारसँग बजेट माग गरिने डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर भरत श्रेष्ठले बताउनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्