गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा । गोरखा दरवारबाट काठमाडौँको हनुमान ढोकामा आज फूलपाती पठाइएको छ । बिहान गोरखा कालिका मन्दिर परिसरमा रहेको दसैँ घरबाट काठमाडौँ स्थित हनुमान ढोका भित्राउन फूलपाती पठाइएको हो ।
सडक मार्ग नखुल्दा गोरखाबाट धादिङको जीवनपुर हुँदै पैदल मार्गबाट फूलपाती काठमाडौँ पठाउने चलन रहिआएको थियो । सडक सञ्जाल विस्तार भएसँगै सवारी मार्फत फूलपाती काठमाडौँ पठाउने गरिएको हो ।
आज बिहान बा २ झ २११८ नम्बर को सरकारी सवारी मार्फत फूलपाती काठमाडौँ पठाइएको गोरखा दरबारका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
दरबारका मगर थरका सुसारे र पुजारीहरूले गोरखा नगपालिका आले गाउँ, रिप, सतिपिपल क्षेत्रमा पाइने फूल, पाती, बेलपत्र, केरा, हलेदो, धान, अशोक, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखु लगायतका लहरा पात र फूलपाती सतिपिपल स्थित डाँडामा राखेर बाजागाजा सहित मन्दिरमा लगेर पूजा गर्ने र त्यसपछि काठमाडौँका लागि पठाउने गरिन्छ । गोरखाबाट पठाएको फूलपाती काठमाडौँको हनुमान ढोका पुर्याएपछि दसैँ सुरु भएको मान्ने चलन रही आएको छ ।
पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयी गरेसँगै गोरखाको फूलपाती काठमाडौँ हनुमान ढोकामा भित्राउने प्रचलनको सुरुवात भएको अभिलेख रहेको छ ।
फूलपाती काठमाडौँ पठाउने क्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतका जिल्ला स्थित प्रमुखहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्