राहत,पुनर्निर्माण र पुनर्स्थापना सरकारको प्राथमिकतामा: गृहमन्त्री लेखक
सिन्धुपाल्चोक । गृहमन्त्री रमेश लेखकले राहत, पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर सरकार अगाडी बढेको बताउनु भएको छ ।
विपद्ग्रस्त क्षेत्र अवलोकन गर्नुहुँदै मङ्गलवार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा आइपुग्नु भएको गृहमन्त्री लेखकले राहत, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यसँगै खोज र उद्धारका कार्यलाई पनि सरकारले निरन्तरता दिइरहेको बताउनुभयो ।
जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठकमा सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले अझै पनि कतिपय व्यक्तिहरू बाढी पहिरोमा परि बेपत्ता भएको हुँदा बेपत्ताको खोजी सँगसँगै पीडितहरूलाई राहत उपलब्ध गराउने र अत्यावश्यक सेवाहरूको अवरोध हटाउन सरकार लागि परेको बताउनुभयो ।
रक्षामन्त्री मानवीर राईले विपद्को समयमा राहत उद्धारका लागि नेपाली सेनाले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै सेना प्रहरीकै कामका कारण प्रभावितले सरकारको अनुभूति गरेको बताउनुभयो ।
भौतिक यातायात मन्त्री देवेन्द्र दाहालले विपद्सँग जुध्न नसक्ने जिकिर गर्दै विपद व्यवस्थापन गर्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बाढीले बगाएको बेलीव्रिजका लागि नेपाल सरकारलाई भारत सरकारबाट २० वटा बेलिबृज उपलब्ध हुने पनि खुलाउनुभयो ।
बैठकमा प्रतिनिधिसभा सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, जिल्लास्थित विभिन्न दलका प्रमुख, स्थानीयतहका प्रमुख एवम् उपप्रमुखहरूले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त जिल्ला घोषणा गर्न र चीनसँग नाका सुचारु गर्नका लागि बाढीले बगाएको २ वटा पुल तुरुन्त निर्माण गर्न माग गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्