तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

क्यानबेरा । अस्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका र यो सङ्ख्या सन् २०२३ को अगस्ट (३० हजार ७०३) को आधा हो ।

अस्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा, १८ हजार ६९७ विद्यार्थीहरूले आवेदन दिएका छन् । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीहरूले आवेदन हालेका थिए । 

हाल अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अस्ट्रेलियाली डलर बाट बढाएर एक हजार ६०० अस्ट्रेलियाली डलर बनाएको छ ।  

सरकारले अगस्टमा अस्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो ।  

नयाँ तथ्याङ्कअनुसार अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदनहरू जुलाई र अगस्ट २०२३ को १३ हजार ४७  बाट  ६६।४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा चार हजार ३८३ मा झरेको छ । 

यसैगरी, फिलिपिन्सको आवेदन सङ्ख्या पाँच हजार १२६ बाट ८४९ र पाकिस्तानको चार हजार २३४ बाट घटेर ६१६ मा झरेको छ । 

अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सबैभन्दा धेरै अस्ट्रेलिया जाने चिनिया विद्यार्थीको भिसा आवेदन सन् २०२३ र २०२४ को बीचमा १० प्रतिशत भन्दा कमले घटेको छ । 

अस्ट्रेलिया विश्वविद्यालयहरूको सर्वोच्च निकाय (युनिभर्सिटिज अस्ट्रेलिया) ले विश्वविद्यालयहरूलाई सरकारको प्रस्तावित विद्यार्थी सीमाले देशको अर्थव्यवस्थालाई अर्बौँ डलर घाटा लाग्नेछ भने यसको परिणामस्वरूप उच्च शिक्षा क्षेत्रमा हजारौँ रोजगारी गुम्नेछन्।  

रासस/सिन्ह्वा  

प्रतिक्रिया राख्नुहोस्

Back to top button