सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्रै लोकतन्त्र बलियो हुने: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्रै लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
सूचनाको हकमा सर्वव्यापी पहूँचसम्वन्धी अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा राष्ट्रिय सूचना आयोगले आज काठमाडौँमा गरेको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्था बलियो बनाई जनताका अधिकार रक्षाका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले सूचनाको हकको कार्यान्वयनका लागि राज्यका सबै निकाय र नागरिक समाज मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपालको संविधानले सुनिश्चित गरेको सूचनाको हकलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन सके दिगो विकासका लक्ष्यहरू हासिल गर्न समेत सहयोग पुग्ने हुनाले सबै सार्वजनिक निकायहरूले त्यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन सके सार्वजनिक निकायमा हुने भ्रष्ट्राचार,अनियमितता र ढिलासुस्ती अन्त्य गरी शासन व्यवस्थामा जनताको विश्वास बढ्ने बताउनुभयो ।
प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हकको कार्यान्वयन बढाउन नागरिकमा सूचना माग गर्ने र प्रश्न गर्ने बानीको विकास हुनुपर्ने बताउनुहुँदै सङ्घीयता कार्यान्वयनसँगै स्थानीय सरकारमा नागरिकहरूले सूचना माग्ने क्रम बढ्नु सकारात्मक रहेको बताउनुभयो ।
सूयुक्त राष्ट्रसंघले हरेक सेप्टेम्बर २८ लाई सूचनाको हकमा सर्वव्यापी पहूँचसम्वन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । यसै सन्दर्भमा राष्ट्रिय सूचना आयोगले आज सार्वजनिक क्षेत्रमा सूचनाको हक प्रवाहीकरण विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरी मनाएको हो ।








प्रतिक्रिया राख्नुहोस्