तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदाः मन्त्री भण्डारी 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातीय समुदाय तथा संस्कृतिको विविधता रहेको बताउनुभएको छ ।

नेपाली संस्कृति संरक्षण तथा प्रवद्र्धन हेतु ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित तीन दिने कार्यक्रम ‘पाटन हेरीटेज जेम एण्ड ज्युलरी एक्सपो’ को उद्घाटन कार्यक्रममा उहाँले सांस्कृतिक विविधता झल्काउने नेपालको परम्परागत भेषभुषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहिआएको बताउनुभयो । 

‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ हुन गइरहेको यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु आफैमा गर्वको विषय भएको मन्त्री भण्डारीको भनाइ थियो । 

“ढाका टोपीदेखि गुन्यु चोलो, हाकुपटासीदेखि बख्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विशेष महत्व पनि उत्तिकै छ, एकातर्फ आजको विश्वव्यापीकरणका कारण पुरै विश्व एउटै छाना मुनि अवस्थित छ, अर्को तर्फ नेपालको सन्दर्भमा हाम्रा सांस्कृतिक पहिरनका पहिचान धमिलिँदै गएको पनि भान भइरहेको छ”, उहाँले भन्नुभयो । 

यिनको महत्व आजका पिँढीमाझ अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको उहाँको भनाइ छ । मन्त्री भण्डारीले भन्नुभयो, “हाम्रा सांस्कृतिक पहिरन एवं गरगहना मात्र सुन्दर सामान नभएर एक समृद्ध सांस्कृतिक सम्पदाका जीवित अवतारका रुपमा रहेका छन्, यिनको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो, यस प्रकारको कार्यक्रमबाट पुर्खाहरूको विरासतलाई सम्मान पुग्नुका साथै आगामी पुस्ताका लागिसमेत जीवन्त सांस्कृतिक विरासत सुनिश्चित गर्न सकिन्छ ।”

यस कार्यक्रमले परम्परागत कालीगढ तथा पहिरन बनाउने सिपको प्रवद्र्धन, युवा पुस्तामा सांस्कृतिक पहिचान र समृद्धबारे अवगत तथा महत् बोध, परम्परागत पेसालाई व्यवसायीकरण गर्न प्रेरणाका साथै स्थानीय व्यापारको प्रवर्धन, नेपालको मौलिकतालाई विदेशी नागरिक माझ पहिचान गराउँदै विश्व सामु नेपालको विविधता पहिचानमा थप टेवा पुग्ने मन्त्री भण्डारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button