तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज नाकाबाट २ महिनामा ५ अर्ब ३९ करोड बढीको नेपाली उत्पादन निर्यात

वीरगंज । वीरगंजस्थित एकिकृत तथा आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को   साउन र भदौ महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ५ अर्ब ३९ करोड ९८ लाख ८९ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । 

वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को दुई महिनामा १ अर्ब २९ करोड ३ लाख ७९ हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ भने दुई महिनाको अवधिमा  ६९ करोड ३० लाख ६० हजार मूल्य बराबरको फलामे पाता निर्यात भएको छ । 

त्यसैगरी दुई महिनाको अवधिमा ४९ करोड ५९ लाख २८ हजार मूल्य बराबरको पिना, २३ करोड २२ लाख ६० हजार मूल्य बराबरको जमोठ कपडा निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनु भयो ।

त्यसैगरी आर्थिक बर्ष २०८१/०८२ को दुई महिनामा ३८ करोड ३४ लाख ५९ हजार मूल्य बराबरको बत्तीसा, त्रिफला, कवाजहरू, च्यवनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू भारत निर्यात भएको छ भने दुई महिनाको अवधिमा ११ करोड ८२ लाख ९९ हजार मूल्य बराबरको उनी गलैँचा कार्पेट, ११ करोड ७९ लाख, ८४ हजार बराबरको कुकुर वा बिरालाको खाना, ५ करोड १८ लाख ७१ हजार मूल्य बराबरको तयारी पोशाक भारत निर्यात भएको छ । 

त्यसैगरी वीरगंज नाकाबाट उनी गलैँचा, मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन,  रेसाको कपडा, आयुर्वेदिक औषधी, स्टिलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप, तयारी कपडा, र पोसाकका नमूना भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button