कृषि मन्त्री अधिकारीसँग भारतीय राजदूतको भेटवार्ता
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले भारतले नेपालको कृषि क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले नेपालको कृषि उत्पादन भारतीय बजारसम्म सहज पहुँच पुर्याउनका लागि सहजीकरण गरिदिन पनि राजदूत समक्ष आग्रह गर्नुभयो । सीमा क्षेत्रमा पशुपन्छी रोग नियन्त्रणका लागि दुई देशबिचको सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले पशुपन्छीमा देखिएका विभिन्न रोगहरूको रोकथाम तथा कृषि उपजको आयात निर्यातका लागि सीमा क्षेत्रमा थप क्वारेनटाइनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।
सरकारी तवरबाट मल खरिदमा केही समस्या र चुनौतीहरू आएको भन्दै मन्त्री अधिकारीले खरिद प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन पनि राजदूत समक्ष आग्रह गर्नुभयो ।
भेटवार्तामा भारतीय राजदूत श्रीवास्तवले नेपालको कृषि क्षेत्रमा भारतले विगत देखिनै सहयोग गर्दै आएको उल्लेख गर्दै नेपालको चाहना अनुसार आगामी दिनमा सहयोग वृद्धि गर्न भारत इच्छुक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्