तपाईँ सुन्दै हुनुहुन्छः

‘मधेसमा पानीको समस्याको दीर्घकालीन समाधानमा सरकार जुटेको छ’

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले मधेसमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा सरकार जुटेको बताउनुभएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित ‘सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’ को २२औँ वार्षिक साधारण सभामा खानेपानी मन्त्री यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरूलाई तीव्रताका साथ अगाडी बढाइरहेको बताउनुभयो ।

उहाँले सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले स्थानीय स्तरमा स्वच्छ खानेपानी वितरणलाई प्रभावकारी रुपमा अगाडी बढाएकोमा प्रशंसा गर्दै सरकारसँग हातेमालो गरेर स्थानीय स्तरमा सञ्चालनमा आएका खानेपानीका योजनाहरू सफल हुने गरेको बताउनुभयो ।

मधेशमा उत्पन्न खानेपानीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता पनि अपरिहार्य रहेको कुरामा जोड दिनुभयो ।

मन्त्री यादवले मधेसमा सुख्खा याममा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकलहरू सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले यस समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुनकोसी–मरिन डाइभर्सन परियोजनामार्फत मधेसमा पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने बताउँदै यसले सिँचाइ मात्र नभई खानेपानी आपूर्तिमा समेत योगदान पुर्‍याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button