तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय सेवा गठनको विधेयक लुम्बिनी प्रदेश सभामा पेश

दाङ । लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्नुभयो । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औँ बैठकमा समितिका सभापति बुढाले प्रतिवेदन सहितको विधेयक पेश गर्नुभएको हो ।

भदौ ६ गते बसेको प्रदेश सभाको २७ औँ बैठकले प्रतिवेदनसहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयकमाथि पुनः छलफल गरेर बैठकमा पेश गरेको हो ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी बनाउन भूमिका खेल्ने गरी विधेयक तयार भएको सभापतिको भनाई छ ।

बुधवार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेश गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button