हाप्किडो खेललाई दशौं राष्ट्रिय खेलमा समावेश गर्न माग
पोखरा । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा हाप्किडो खेललाई समेत समावेश गर्न माग गरिएको छ । मङ्गलवारदेखि पोखरामा सुरु भएको हाप्किडो सेमिनारको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले उक्त खेललाई समेट्न आग्रह गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले नेपाली हप्किडोले छोटो समयमा नै नेपाली खेलकुदमा महत्वपूर्ण रुपमा विकास गरेको प्रति प्रशंसा व्यक्त गर्दै दशौं राष्ट्रिय खेलकुदमा समावेश गर्न पहल गर्ने जनाउनुभयो । गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलकुद सहरको रुपमा अघि बढाउन प्रचुर सम्भावना रहेको मात्रै नभई सबैको ध्यान त्यसतर्फ खिच्न समेत सफल रहेको मन्त्री थापाले उल्लेख गर्नुभयो ।
हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ पोखरामा सुरु गरिएको हाप्किडो संघ कास्कीका अध्यक्ष रविन गुरुङले बताउनुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य एवं खेलकुद पत्रकार केशव पाठकले पोखरामा धेरै खेलको सम्भावना रहेको बताउनुभयो ।
नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम लगायत हाप्किडो खेलको प्रदर्शन समेत गरिएको थियो ।
अध्यक्ष मगरले नेपाली हप्किडोले पछिल्लो समयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप छोड्न सफल भएको जनाउँदै हाप्किडो खेलको विकास र विस्तारका लागि राज्यको भूमिका आवश्यक रहेको बताउनु भयो । दशौं राष्ट्रिय सेमिनारमा सातै प्रदेशबाट २ सय भन्दा बढीको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्