तपाईँ सुन्दै हुनुहुन्छः

‘सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ ।

नेपालीको सबैभन्दा ठुलो पर्व दसैँको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सव यही असोज ९ गतेदेखि १९ गतेसम्म ११ दिन चल्ने छ ।

यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठका अनुसार महोत्सव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित खुल्ला मैदानमा हुने छ ।

महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरू, बिउ बिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडीबुटी तथा औषधी, छालाका सामानहरू, गार्मेन्ट तथा जुत्ताचप्पल, गलैँचा तथा पस्मिनाको स्टल रहने छन् ।

सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेकट्रोनिक्स, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैङ्क तथा वित्तीय संस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकाय गरी १५० भन्दा बढी स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय आविष्कार केन्द्रको स्टल समेत रहने उहाँले बताउनुभयो ।

महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकुद गतिविधि आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

भक्तपुर जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थानहरूको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउँदै यहाँका स्थानीय उत्पादनहरूको बजारीकरणमा विशेष टेवा पुर्‍याउने उद्देश्य महोत्सवको रहेको महोत्सवका संयोजक माधवप्रसाद प्रजापतिले बताउनुभयो ।

महोत्सवमा राखिने वस्तुहरूको प्रकृतिका आधारमा स्टलको साइज र शुल्क फरक हुने महोत्सव व्यवस्थापक सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.का प्रमुख संगम लामाले बताउनुभयो ।

महोत्सव अवधिभर करिब दुईलाख पचास हजार दर्शकहरूले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको छ ।

महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा जिल्लाका बासिन्दाहरूले समेत लाभ लिन सक्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button