नियतमा खोट छैन, कमीकमजोरी भए सच्चिन तयार छौँ: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गर्नु भएको छ । उहाँले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जबाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गर्नु भएको हो ।
नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा मङ्गलवार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गर्नु भयो। ‘सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौँ ।’ उहाँले भन्नुभयो । ‘आलोचना गर्न नडराउनुस्, म सच्चिन चाहन्छु, सकिन चाहँदैन । यहाँहरूले गर्ने तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्छौँ ।’ मुख्यमन्त्री आचार्यलेले नियतमा खोट नभएको, कमीकमजोरी भए सच्चाउन तयार रहेको स्पष्ट पार्नुभयो ।
राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको स्पष्ट पार्नुभयो ।
“मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौँ । यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ । उहाँले भन्नुभयो “जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौँ ।”
पूर्व विशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको भनाइ उहाँको छ । पद बहाली गरेको ४७ दिन भयो । सरकारले यो अवधिमा सुशासन, पारदर्शीको क्षेत्रमा केही महत्त्वपूर्ण कामहरू अघि बढाएका छौँ । उहाँले भन्नुभयो”सरकारले जनतामा आशा जगाउन काम थालेको छ । यहाँहरूको सहयोगको खाँचो छ । ” उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गर्नु भएको छ ।पत्र कारितामा नयाँ आयाम थप्ने काम गरेको छ । विश्वसनीय सूचना र समाचारको अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेको छ। उहाँले भन्नुभयो “समाज रुपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हो । सङ्घीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।”
मन्त्री न्यौपानेले प्रदेशले गरेका राम्रा योजना र कामहरूको प्रचारप्रसार बढाउनुपर्ने,राम्रा कामको प्रचार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । सङ्घीयताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गर्नु भयो । तीन तहको सरकारको विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशको विकासको लागि सहकार्य जरुरी रहेको स्पष्ट पार्नु भयो ।
पत्रकार महासङ्घका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डाक्टर विकास लामिछाने, नेपाल पत्रकार महासङ्घका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन, नेपाल संस्कृति विश्व विद्यालयका रजिस्ट्रार माधव अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासी,नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य लगायतले समाजलाई सही दिशा प्रदान गर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिनु भएको छ । महासङ्घका उपाध्यक्ष वसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्