सङ्खुवासभाको शिर उच्च राख्ने गरी काम गर्नेछु : मन्त्री खड्का

खाँदबारी(सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्ने गरी काम गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको एक सय ११औँ बिपी जयन्ती तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सम्मानमा आयोजित कार्यक्रममा उहाँले सङ्खुवासभाभित्र रहेका स्रोतसाधनको उच्चतम प्रयोगमार्फत शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका क्षेत्रमा काम गर्ने बताउनुभयो । “देशको आवश्यकताअनुसार संविधान संशोधन गर्ने गरी दुई दल मिलेर सरकार बनेको छ, यो सरकारले नागरिकमैत्री सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासनलगायत क्षेत्रमा काम गर्नेछ”, उहाँले भन्नुभयो ।
मन्त्री खड्काले नयाँ सरकार गठनपछि मुलुकको आर्थिक, पर्यटकीय गतिविधिमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री खड्काले जनतामैत्री सेवा प्रवाहमा केन्द्रित हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । “जनताले हाम्रा कामको मूल्याङ्कन गरिरहनुभएको छ, तसर्थ उहाँहरूको सहजता र सुविधाका लागि काम गर्नुहोस्”, उहाँले भन्नुभयो ।
ऊर्जा मन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पूरा गर्न सरकार लागेको उल्लेख गर्नुभयो । उहाँले सङ्खुवासभामा मात्र झन्डै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जा मन्त्री खड्काले आगामी दुई वर्षभित्र सङ्खुवासभासहित देशभर विद्युतीकरण गरिसक्ने बताउनुभयो । उहाँले यहाँको स्रोतसाधन अधिकतम प्रयोग गरिने उल्लेख गर्नुभयो ।
कांग्रेस सङ्खुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले ऊर्जा, जलस्रोत र सिँचाइमार्फत देशको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सङ्खुवासभामा भएको स्रोतसाधनको उच्चतम प्रयोग गरी समृद्ध सङ्खुवासभा निर्माणमा लाग्ने उल्लेख गर्नुभयो ।
कांग्रेस सङ्खुवासभाका पूर्व सभापति दीपनकुमार श्रेष्ठले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन बिपी कोइरालाको ठूलो योगदान रहेको स्मरण गर्नुभयो । “बिपी कोइराला भन्नुहुन्थ्यो गाउँको विकास भएमात्र देशको विकास हुन्छ, उहाँको विचारलाई पूरा गर्न कांग्रेस लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
कांग्रेस सङ्खुवासभाका पूर्व सभापति जनक थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सङ्खुवासभाले पहिलोपटक निर्वाचित मन्त्री पाएकाले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कांग्रेस सङ्खुवासभाका उपसभापति रामकुमार जिमी, सचिव टकमान घले, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांंग्रेस महाधिवेशन प्रतिनिधि निर्मला तामाङ बस्नेत, महासमिति सदस्य दीपककुमार लिम्बूलगायतले जिल्लाको जलस्रोतलाई अत्यधिक उपयोग गरी यस क्षेत्रको विकासमा लाग्न मन्त्रीसँग अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सङ्खुवासभाले जिल्लाको समस्या सम्बोधनका लागि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको थियो । निर्वाचित मन्त्री खड्कालाई कांग्रेस जिल्ला कार्यसमिति र जिल्लास्तरीय भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिले सम्मान गर्नुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्