आरन व्यवसाय: घरपरिवार धान्नै मुस्किल
बाजुरा। बाजुरामा पुस्तौँदेखि आरनको काम गर्दै आएका आरन व्यवसायीहरूले यो पेशा बाट दैनिक घरपरिवारको गुजारा गर्नै मुस्किल भएको बताउन थालेका छन्। बडिमालिका नगरपालिका वडा नम्बर ५ का गिठे मिजारले आरन पेसा गरेर जीविकोपार्जन गर्न निकै कठिन भएको बताउनुभयो ।
आरनको काम गरे बापत प्रत्येक घरबाट बाली उठाउने (खलो खाने) प्रथा रहेको बाजुरामा काम अनुसारको अन्न पाउन छोडेपछि घर धान्नै मुस्किल हुने गरेको व्यवसायी हरुको गुनासो छ।

पछिल्लो समय बढ्दै गएको आधुनिकीकरणले जिल्लामा आरन पेसा समेत लोप हुँदै गएको छ । विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरो लगायत घरेलु औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको सरोकारवालाको भनाइ छ।
आरन व्यवसाय बाट आय आर्जन खासै छैन यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण पनि घटेको छ पहिले एक गाउँमा दर्जन बढी परिवारले यो पेशा अङ्गालेका हुन्थे अहिले प्रायः गाउँमा एकदुई जना भन्दा बढीले यो काम गर्दैनन् सदरमुकाम मार्तडीका एकजना आरन व्यवसायी लालबहादुर विकले गुनासो गर्नुभयो।
दिनरात काम गरे पनि आरन पेसा गर्नेले उचित पारिश्रमिक पाउँदैनन् । उनीहरूलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो विकको भनाइ छ ।

राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै आरन पेसा गर्नेलाई समेत सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेसामा अडिरहन सहयोग पुग्ने स्थानीय आरन व्यवसायीको बुझाइ छ।
आगोको रापमा दिनभर फलाम पिटेर सामग्री निर्माण गरे अनुसारको ज्याला नपाउने हुँदा आरन ब्यबसायनै सङ्कटमा पर्न थालेको हो।
समाजले हेर्ने दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्न थालेको छ । युवाहरू यो पेशा बाट मनग्य आम्दानी नहुने भएपछि अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेका छन् । जसले गर्दा परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्