तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा । झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको विर्तामोड ६, बुट्टावारीमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । एक जनाको गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ ।
दुर्घटनामा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका–५ बस्ने २४ वर्षीय दिवाङकर राइको उपचारका क्रममा आज बिहान बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ न.को मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ न.को ट्रक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैचा नगरपालिका–१० बस्ने २८ वर्षीय सुबोध बस्नेत घाइते भई दुवैजनालाई बीएण्डसी हस्पिटल लगिएको थियो । बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक र ट्रक चालक झापा अर्जुनधारा नगरपालिका वडा नं.६ बस्ने ३१ वर्षीय संजय माझीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी हिजो साँझ झापाको कनकाई नगरपालिका–५ चप्रामारीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ ।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं.को मोटरसाइकलले बाटो क्रस गर्दै गरेका सोही ठाउँ बस्ने सुन्तली टुडूका छोरा ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका–२ बस्ने २४ वर्षीय बसन्त मुखियालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button