सूचीकरण गरी यसै वर्ष किसानहरूलाई परिचय पत्र वितरण गरिने छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानको सूचीकरण यसै वर्ष सम्पन्न गरि परिचय पत्र वितरण गर्ने लक्ष्य मन्त्रालयले लिएको बताउनुभएको छ ।
मन्त्री अधिकारीको अध्यक्षतामा मङ्गलवार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिहंदरवारमा बसेको कृषि विषयगत समितिको बैठकमा मन्त्री अधिकारीले कृषि अनुदानका लागि पालिका र प्रदेशसँग समन्वय गरि एउटा संयन्त्र गठन गर्ने सोचाई रहेको बताउनुभयो । कृषि अनुदान लिएकाहरूको सुची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको बताउँदै मन्त्री अधिकारीले अनुदानको सही सदुपयोग हुन सकोस् भन्ने आफ्नो स्पष्ट उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले हालको रासायनिक मल वितरण निर्देशिकामा परिमार्जन जरुरी रहेको उल्लेख गर्दै मल लिनका लागि नागरिकता लिएर जान नपर्ने गरि निर्देशिका परिमार्जन गरिने जानकारी दिनुभयो । मलका सम्बन्धमा मन्त्रालयले हालै टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको जानकारी दिँदै मन्त्री अधिकारीले किसानले समयमा रासायनिक मल पाउन नसकेमा तुरुन्तै मन्त्रालयमा जानकारी गराउन आग्रह समेत गर्नुभयो ।
मन्त्री अधिकारीले कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणलाई जोड दिँदै कार्यक्रम बनाउन प्रदेशका कृषि मन्त्रीहरू समक्ष आग्रह गर्नुभयो । रैथाने उत्पादनहरूलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाउने बताउँदै मन्त्री अधिकारीले कृषि उपजहरूमा बढ्दो विषादीको नियन्त्रणका लागि स्थानीय सरकारको सक्रियताको अपेक्षा पनि व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले बाँदरले कृषि उपजमा पारेको क्षति गम्भीर विषय भएको उल्लेख गर्दे यसको व्यवस्थापनका लागि मन्त्रालय गम्भीर भएर लाग्ने पनि बताउनुभयो ।
कोशी र गण्डकी प्रदेश बाहेकका प्रदेश मन्त्रीहरू उपस्थित बैठकमा विगतका विषयगत समितिमा भएका निर्णयहरूको समीक्षा, कृषि क्षेत्रमा राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता तथा उपलब्धिहरूको समीक्षा, मल खाद व्यवस्थापन तथा विक्री वितरण, दुग्ध कृषकको रकम भुक्तानीका विषयमा छलफल भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्