तपाईँ सुन्दै हुनुहुन्छः

‘सञ्चालकको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले सञ्चालकको स्वामित्वमा भएको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७९ को नियम ३८ (१)(क) अनुसार सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको सङ्घको भनाइ छ ।
सङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “शेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौँ । कम्पनीमा कायम रहेका सबै शेयर धनी जस्तै सञ्चालक पनि लगानीकर्ता नै रहेको र शेयरधनीको साधारणसभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा उनीहरूमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौँ ।” सङ्घका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मूल, महासचिव महेन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला एवं सदस्यहरू आजाद श्रेष्ठ र कुनाल कयल नेतृत्वको टोलीले धितोपत्र बोर्डका अध्यक्ष महेश बराललाई उक्त प्रावधान सच्याउनका लागि आग्रह गरेको छ ।
लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकको वित्तीय स्वार्थमा कुनै फरक नरहेको सङ्घका अध्यक्ष मल्लले बताउनुभयो । सञ्चालकले अन्य शेयर धनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट बञ्चित गर्ने कार्य न्यायोचित नभएको उहाँको भनाइ छ । “कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा अवरोध सिर्जना हुने देखिन्छ”, अध्यक्ष मल्लले भन्नुभयो ।
सङ्घले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ, “कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत शेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button