राष्ट्रियसभा बैठक: मन्त्रीहरूद्वारा विभिन्न विषयमा सदनलाई जानकारी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले अछाममा छाउपडी बसेको अवस्थामा आफ्नै मामाबाट बलात्कार भएको घटनाको छानविन गर्न तथा छाउपडी उन्मुलन गर्न गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा एक समिति गठन गरी अध्ययन भइरहेको जानकारी दिनुभयो ।
आजको राष्ट्रिय सभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले उक्त समितिले प्रतिवेदन बुझाएपछि जतिसक्दो चाँडो प्रचलित कानुनअनुसार दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।
बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी सेवा पुर्याउन सरकार लागि परेको बताउनुभयो । मन्त्री यादवले ९४ दशमलव ९३ प्रतिशतमा शुद्ध खानेपानी सुविधा र शतप्रतिशतमा सरसफाई सेवा पुगेको जानकारी दिनुभयो ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले आर्थिक वर्ष २०८०/०८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रानीजमरा गुलरीया सिँचाई आयोजनाको ७२ दशमलव ३९ प्रतिशत वित्तीय प्रगति र ७४ दशमलव ३६ प्रतिशत भौतिक प्रगति हुनुका साथै ४ दशमलव ७१ मेगावाट विद्युत् समेत उत्पादन भएको बैठकलाई जानकारी गराउनुभयो ।
कार्यान्वयन गर्न नसकेर थन्किएका ठूला आयोजनाहरू कार्यान्वयनका लागि सरकार लागि परेको बताउनुहुँदै मन्त्री खड्काले बुढी गण्डकीलगायतका आयोजना निर्माण प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभयो ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणित गरेर पठाइएको पत्र पढेर सुनाउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक यही भदौ २५ गते मङ्गलवार दिउसो १ः१५ मा बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्